detail-img

‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई देशको बदनाम गर्नेलाई कडा कारवाही हुनुपर्छ’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणले देश बदनाम भएको वताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको ३४औं स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस प्रकरणका दोषीलाई कडा कारबाही हुनुपर्ने वताउनुभयो ।


मुलुकका भ्रष्ट र कमिसनखोरहरूले एमालेलाई लाञ्छित गर्ने कुचेष्टा गरिरहेको वताउँदै महासचिव पोखरेलले यस घटनामा गल्ती एउटाले गर्ने दोष अर्कालाई लगाउने प्रयत्न भएको भनाइ राख्नुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– हरेक घटनाका सन्दर्भमा निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न के यो सरकारले आँट गर्छ ? नेकपा (एमाले) त्यसमा सहयोग गर्न तयार छ ।’
अदालतको परमादेशबाट  सरकार बनेपछि गृह मन्त्रालयको जिम्मेवारी लिएकाहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर रकम असुल्ने काम गरेको वताउँदै उहाँले भन्नुभयो– जो भ्रष्ट छन्, आज उनीहरूकै ठूलो स्वर छ, भ्रष्टाचार विरोधी नेता जस्तो बन्न खोजिरहेका छन् ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो संलग्न छन्, उनीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने नेकपा (एमाले) को मान्यता रहेको उहाँले बताउनुभयो । 
सम्बोधनका क्रममा महासचिव पोखरेलले मुलुुकमा सुशासन, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिका पक्षमा एमाले दृढ अडानका साथ काम गर्ने  पार्टी भएको बताउनुभयो । 
नेकपा (एमाले) सकारमा हुँदा थुप्रै विकास र समृद्धिका काम गरेको, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा पनि महत्वपूर्ण काम गरेको चर्चा गर्दै महासचिव पोखरेलले एमाले सरकारबाट हट्ने बित्तिकै गठबन्धन सरकारले सबै विकासका योजना कटौती गरेको प्रष्ट पार्नुभयो । राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष क्षितिज थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य तथा युवा संघका पूर्व अध्यक्ष महेश वस्नेत, केन्द्रीय सदस्यहरू लगायतको अतिथिका रुपमा उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुमा महङ्गी नियन्त्रण, भ्रष्टाचारीलाई कारबाही लगायतका मागसहित प्रदर्शन गरिएको थियो । नेकपा (एमाले) को जनसंगठन राष्ट्रिय युवा संघ २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघका रुपमा स्थापना भएको हो ।