detail-img

मधेशमा प्रचार भेला– प्रचार विभागलाई पूर्णता दिन र बार्षिक कार्ययोजना बनाउन निर्देशन 

सर्लाही । नेकपा (एमाले) को मधेश प्रदेशस्तरीय प्रचार भेला शनिबार सर्लाहीमा सम्पन्न भएको छ । भेला नेकपा (एमाले) का सचिव तथा मधेश प्रदेश ईन्जार्च योगेश भट्टराईको प्रमुख आतिथ्यमा सर्लाहीमा सम्पन्न भएको हो । 
भेलालाई सम्बोधन गर्दै सचिव भट्टराईले मधेश प्रदेशका सबै आठवटै जिल्लामा यही असार महिनाभित्र प्रचार विभागलाई पूर्णता दिई प्रचारको कामलाई व्यवस्थित रूपमा अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले सबै जनसंगठनलाई पनि बार्षिक कार्ययोजना बनाउन निर्देशन दिनुभयो ।


सचिव भट्टराईले पार्टी काममा अल्छि नगर्न आग्रह गर्दै सबै जनसंगठनले हरेक महिना कामको प्रगति प्रतिवेदन बुझाउनुपर्ने जानकारी गराउनुभयो । 
उहाँले नेकपा (एमाले) का कार्यकर्ताहरू सूचना र प्रविधिको प्रयोगमा प्रखर हुनुपर्ने भन्दै सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, टिकटक जस्ता माध्यमको प्रयोगमा जोड दिनुभयो । 
भेलामा पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले प्रचार, पार्टी स्कूल र जनसंगठनलाई विशेष फोकस गरेको भन्दै त्यसअनुसारको योजनासहित परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा केन्द्रीय सदस्य तथा मधेश प्रदेशमा प्रचार संयोजक अरबिन्द सिंह, नेकपा (एमाले) मधेश प्रदेशका अध्यक्ष रामअवतार यादव, केन्द्रीय प्रचार विभाग सचिव गगन बिष्ट र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतका नेताहरूले प्रचारको कामलाई व्यवस्थित बनाउनका लागि विभिन्न सुझाव राख्नुभएको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका प्रभावशाली नेता तथा पुराना पत्रकार शैलेन्द्र गुप्ता प्रेस चौतारी, नेपालमा प्रवेश गर्नुभयो ।