detail-img

‘कम्युनिष्ट आन्दोलनका प्रवृत्तिहरूको विश्लेषण गर्नुपर्ने’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनका प्रवृत्तिहरूको विश्लेषण गर्नुपर्ने वताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’को आइतबार लोकर्पण गर्दै अध्यक्ष ओलीले पुस्तकमा कम्युनिष्ट आन्दोलनका थुप्रै जानकारी र विवरण रहेको वताउनुभयो । 
उहाँले कम्युनिष्ट आन्दोलनमा प्रकट भएका प्रवृत्ति विश्लेषण गरिएको भए पुस्तक अझ महत्वपूर्ण हुने थियो भन्नुभयो । 
देश, जनता र प्रगतिको अहित हुने गरी आन्दोलनभित्र विगतमा कस्ता प्रवृत्ति सिंगारिएर आए, ति घटनाको विश्लेषण हुनुपर्ने वताउँदै अध्यक्ष ओलीले ति प्रवृत्तिबाट शिक्षा लिने कुरामा पनि कमी  भएको वताउनुभयो । 
उहाँले नेकपा विभाजन भयो भनेर मात्रै अब नबुझ्ने र नपुग्ने हुँदा विभाजनका कारणहरूको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताउनुभयो ।


अध्यक्ष ओलीले भन्नुभयो– अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यसका पछाडिका कारणहरू के थिए ? उद्देश्य के थियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? त्यसमा आन्तरिक कारण कति थियो ? वाह्य कारण कति थिए ? स्वचालित कति थियो ? परिचालित कति थियो ? आन्दोलनको हितका लागि यो सबै कुराको हामीले यथार्थ विश्लेषण गर्दा भविष्यका लागि राम्रो हुन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलन झापा आन्दोलनको पृष्ठभूमिबाट अगाडि बढेको वताउँदै उहाँले झापा आन्दोलन जनताको लोकतन्त्र र आमूल सामाजिक परिवर्तनका लागि भएकाले कम्युनिष्ट आन्दोलनको मियो बन्दै गएको भनाइ राख्नुभयो । 
अध्यक्ष ओलीले नेपालमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन सबै सम्झौतामा टुङ्गिएको वताउँदै आन्दोलनले क्रान्तिको रूप लिन नपाएको चर्चा गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– २००७ सालको आन्दोलन बीभत्स सम्झौतामा टुङ्गियो । २०४६ र २०६२/६३ का जनआन्दोलन पनि सम्झौतामा टुङ्गिए । 
२०१७ सालमा राजा महेन्द्रले संसद विघटन गर्दा दुइतिहाई बहुमत रहेको कांग्रेसले संसद पुनःस्थापनाको माग गर्न नसकेको र चारजना सांसद रहेको कम्युनिष्ट पार्टीले संसद पुनःस्थापनाको माग गरेको चर्चा गर्दै अध्यक्ष ओलीले प्रभावकारीरूपमा उठाउँदा संसद पुनःस्थापना हुनसक्दो रहेछ भन्ने पुष्टि २०६२÷६३ मा संसद पुनःस्थापनाबाट भएको वताउनुभयो । 
पुस्तकको समीक्षा गर्दै नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले पुस्तक डायरी, आत्मसंस्मरण र समीक्षा गरी तीनवटै विधाको अन्तरघुलनका रूपमा रहेको वताउनुभयो । 
नेपालको कम्युनिष्ट आन्दोलनमा आन्दोलन, विभाजन, पुनर्गठन, संविधान निर्माण र राज्यको नेतृत्व गर्दै समृद्ध नेपाल, सुखी नेपालीको यात्रा तयसम्म पाँच महत्वपूर्ण घुम्ती रहेको वताउँदै कार्यवाहक महासचिव ज्ञवालीले पुस्तकमा कम्युनिष्ट पार्टी स्थापनाको सान्दर्भिकता, औचित्य र ऐतिहासिकताको चर्चा गरिनुका साथै कम्युनिष्ट आन्दोलनमा देखिने द्वेध चरित्र र नेकपा विभाजनमा विभिन्न पात्रको चरित्र चित्रण रहेको वताउनुभयो । 
नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा प्रा.डा. भरत पहारीले पुस्तकको समीक्षा प्रस्तुत गर्दै पुस्तकमा कम्युनिष्ट आन्दोलनको समग्र चित्र पाइने भनाइ राख्नुभयो । उहाँले पुस्तक पढ्दा कम्युनिष्ट आन्दोलनमा नेताहरूको मनोगत आग्रह र कुण्ठाका कारण विग्रह पैदा भएको बुझ्न सकिन्छ भन्नुभयो । कार्यक्रममा लेखक बडालले पुस्तक प्रकाशन र लोकार्पणसम्म सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो । 
नेता बडालको यो १७ औं कृति हो । पुस्तकमा कम्युनिष्ट पार्टीको स्थापनादेखि दशौं महाधिवेशनसम्मका विषयवस्तु समेटिएको छ ।