detail-img

सुदूरपश्चिममा जनसंगठनको भेला– समाजवादी मोर्चाको औचित्य छैनः ज्ञवाली

कैलाली । नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले समाजवादी मोर्चाको औचित्य नरहेको बताउनुभएको छ ।
कैलालीको धनगढीमा जनसङ्गठन समन्वय संयन्त्र, सुदूरपश्चिम प्रदेशको प्रथम भेलालाई बुधबार सम्बोधन गर्दै नेता ज्ञवालीले माधवकुमार नेपाल आफ्नो औचित्य बचाउन समाजवादी मोर्चातर्फ केन्द्रित भएको बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका सांसदहरू अब त्यहाँ नरहने खतरा रहेको वताउँदै उपमहासचिव ज्ञवालीले सांसद र नेतालाई बचाउन समाजवादी मोर्चा गठन गर्नतिर लागेको भनाइ राख्नुभयो । 
उहाँले जनताका समस्याहरूका विषयमा भन्दा पनि सत्ता बचाउने ढङ्गले मोर्चा तयार गरिएको तर मोर्चा धेरै समय नरहने वताउनुभयो । 
उपमहासचिव ज्ञवालीले चौतर्फी घेराबन्दीका बीच पनि नेकपा (एमाले) ले देशका हितमा धेरै काम गरेको र राष्ट्रियता जोगाएको बताउनुभयो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्र सुदूरपश्चिमका संयोजक झपट रावलको अध्यक्षतामा भएको भेलामा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल लगायत केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका नेताहरू र जनसंगठनका नेताकार्यकर्ताको सहभागिता रहेको थियो । 
भेलाले विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको छ । पारित प्रस्तावमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा विश्वविद्यालयको सट्टा एकसय शैयाको अस्पतालसहित शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भन्दै भएको घोषणाप्रति खेद व्यक्त गरेको छ । 
प्रस्तावमा भनिएको छ– २०७९ माघ २९ गते नेकपा एमाले समेत सम्मिलित सरकारको मन्त्रिपरिषदको बैठकबाट शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य बिज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको र सोही आधारमा २०८० जेठ ५ गते  राष्ट्रपतिबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा समेत शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने कुरा उल्लेख हुँदाहुँदै पनि बजेट भाषणमा एकसय शैयाको अस्पताल सञ्चालन गर्ने र शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना घोषणा हुनु खेदजनक छ । 
भेलाले सरकारलाई निर्णय सच्याउँदै शहीद दशरथ चन्द राष्ट्रिय स्वाथ्य बिज्ञान विश्वविद्यालय स्थापना गरी सुदूरपश्चिम प्रदेशबासीको आफ्नै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने र दक्ष जनशक्ति सहितको स्वास्थ्य सेवा पाउने पाउने अधिकार प्रत्याभूत गर्न जोडदार माग गरेको छ ।
त्यसैगरी, मनसुनी बर्षा शुरु भएसंगै बाढी र पहिरोको जोखिम बढेको भन्दै बर्षातको समयमा हुने बाढी र पहिरोको पूर्व तयारीमा लाग्न भेला प्रदेश सरकार तथा नेपाल सरकारसँग अनुरोध गरिएको छ । 
भेलाले बाढी र पहिरोबाट बच्ने र क्षति कम गर्ने गरी पूर्व तयारीका काममा सबै जनसंगठन लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा रोपाईँ शुरु भइसक्दा पनि किसानले मलखाद पाउन नसकिरहेको उल्लेख गर्दै भेलाले प्रदेशभरि आवश्यक मलखादको आपूर्ति व्यवस्था सहज बनाउन नेपाल सरकारसँग जोडदार माग गरेको छ । 
दलित, भूमिहीन, अब्यवस्थित बसोबासी, मुक्त कमैया, मुक्त हलिया, मुक्त कम्लरी लगायतको बसोबास र पुनःस्थापना हालसम्म पनि नभएको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र बसोबासको ब्यवस्था मिलाउन जोड दिन भेला प्रदेश र नेपाल सरकारसँग माग गरेको छ । 
भेलाले बजेट विनियोजनमा भएको दुरुपयोग, महंगी, भ्रष्टाचार लगायतका साथै प्रदेशको राजधानी तोकिएको गोदावरीमा आवश्यक पूर्वाधार तथा संरचनाहरू निर्माण कार्य तत्काल सुरु गर्न माग गरेको छ ।