detail-img

७२औं मदन जयन्तीका अवसरमा वृक्षरोपण

काठमाडौं । जननेता मदन भण्डारीको ७२औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यसै अवसरमा विहान नेकपा (एमाले) केन्द्रीय कार्यालय परसर, च्यासल, ललितपुर र मनोहरा नदी किनारमा वृक्षरोपण गरियो । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय परिसरमा बरको विरूवा रोपेर वृक्षरोपण कार्यको शुभारम्भ गर्नुभयो ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनले त्यहाँ चौपारी निर्माण गरेको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव विष्णु रिमाल, पोलिटव्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज यज्ञराज सुनुवार, कार्यालय सचिव डा. भीष्मनाथ अधिकारी लगायत नेताहरूले नासपाती लगायत विभिन्न फलफूलका विरूवा रोप्नुभएको थियो । 
कार्यक्रमलाई संक्षिप्त सम्वोधन गर्दै अध्यक्ष ओलीले बोट विरूवाको मावन जीवनसँग अन्यौन्याश्रित सम्बन्ध रहेको हुँदा वातावरण संरक्षणका लागि वृक्षरोपण कार्य महत्वपूर्ण भएको वताउनुभयो । 
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेले देशको रक्षाका लागि रगत पसिना बगाएका पूर्व सैनिक, प्रहरीले अवकास प्राप्त जीवनमा पनि वातावरण संरक्षण कार्यमा योगदान गर्न चाहेको वताउँदै सबै पूर्व सैनिक तथा प्रहरीलाई आ–आफ्नो ठाउँमा कम्तीमा एउटा फलफूलको विरुवा रोपेर वातावरण संरक्षणमा सहयोग गर्न अपिल गर्नुभएको छ ।