detail-img

संविधानका प्रगतिशील कुराहरू जबजको सचेत प्रयासमा लेखिएको होः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि मुलुकमा भोकमरी र गरिबी कायमै छ भने विकास र मानवअधिकारका गफ दिनुको कुनै सार्थकता नहुने बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबजका आयाम र विशेषता’ विषयक विचार गोष्ठी एवं पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आजको विश्वमा मानिस भोकभोकै मरिरहेको कुरूप चित्र मानव समाजका लागि लज्जाको विषय हो भन्नुभयो । 
यस्तो कुरूप चित्र विद्यमान रहेको अवस्थामा शक्तिको अहङ्कार र दम्भ देखाउनुको अर्थ नरहेको उहाँको भनाइ छ ।


जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादका विविध आयामका बारेमा चर्चा गर्दै अध्यक्ष ओलीले जबज सम्मानित जीवन जिउने समाज निर्माणको सिद्धान्त भएको विचार व्यक्त गर्नुभयो । 
उहाँले आफ्नो नेतृत्वको विगतको सरकारले जबजको विचार अनुशरण गर्दै मानिस भोकभोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने नाराका साथ अगाडि बढेको र सडक मानव उद्धारको काम गरेको स्मरण गर्नुभयो । 
अध्यक्ष ओलीले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला जननेता भण्डारीले नेपाली समाजको विशेषतामा आधारित जबजको सिद्धान्त ल्याएको बताउनुभयो । जननेता भण्डारी सत्यमा अडिएर अगाडि बढ्नुपर्छ भन्ने चिन्तनधाराको व्यक्तित्व भएको उहाँको भनाइ छ । 
जबज एकदमै मौलिक दर्शन र सिद्धान्त भएको र यसका राजनीतिक मात्र नभई आर्थिक, सामाजिक, साँस्कृतिक विभिन्न आयामहरू रहेको अध्यक्ष ओलीले वताउनुभयो । 
उहाँले जबजको गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली भएको वताउँदै संविधानमा लेखिएका समाजवाद उन्मुख समाज लगायत सबै प्रगतिशील कुराहरू जबजको सचेत प्रयासमा राखिएको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– अरू कसैले लेखिदिएको होइन, जबजको सचेत प्रयासमा लेखिएको हो । 
‘हामी जन्मसिद्ध श्रेष्ठतामा आधारित राजतन्त्र वा सीमित व्यक्ति धनी हुने पुँजीवादी व्यवस्थाका पक्षमा छैनौँ, समानता र सामाजिक न्यायसहितको पूर्ण लोकतन्त्रका पक्षमा छौँ’,  अध्यक्ष ओलीले भन्नुभयो– कहिलेकाहीँ मोर्चामा हार खान सकिन्छ तर आन्दोलनले हार्दैन र हामी अविचलितरूपमा समाजको रुपान्तणका लागि लागिरहनुपर्छ । जबजको मार्गदर्शन पनि यही हो । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जननेता भण्डारीको तस्वीरमा माल्यार्पण गरी उहाँप्रति सम्मान प्रकट गरिएको थियो । २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएका जननेता भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । 
कार्यक्रममा फाउण्डेशनद्वारा स्थापित मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७९ स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गर्नुभएका सोलुखुम्बुको दूधकुण्डका  डा. मिङ्मार ग्याल्जेन शेर्पालाई र मदन भण्डारी रूपान्तरण नेतृत्व पुरस्कार–२०८० खेलकूद क्षेत्रमा योगदान गर्नुभएकी तेक्वान्दो खेलाडि तथा प्रशिक्षक मकवानपुर हेटौडा निवासी निरू कुमारी मगरलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि एकलाख रूपियाँ र ताम्रपत्र रहेको छ । 
फाउण्डेशनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा ‘आजको दिशाबोध’ र ‘स्टेट सोसाइटी एण्ड डेभलपमेण्ट’ जर्नल विमोचन गरियो ।