detail-img

समाज रूपान्तरणको अभिभारा पूरा भएको छैनः पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा भई नसकेको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा राजधानीमा आज आयोजित विचार गोष्ठी तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले समाज रूपान्तरणका सम्भावनाको खोजी गर्नुपर्ने बताउनुभयो । 
उहाँले जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइ नसकेको बताउँदै राजनीतिक रूपमा केही संरचनागत परिवर्तनहरू भए पनि नेपाली क्रान्ति सम्पन्न भई नसकेको बताउनुभयो ।


पूर्व राष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवाद कुनै एउटा राजनीतिक दलको विचार नभई नेपाली समाजको विशिष्टतामा आधारित मौलिक राजनीतिक सिद्धान्त भएको धारणा राख्नुभयो । जबजले मार्क्सवादको सिर्जनात्मक प्रयोगलाई सम्पूर्ण रूपमा स्थापित गरेको उहाँको भनाइ छ ।  
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले फाउण्डेशनद्वारा स्थापित मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७९ स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गर्नुभएका सोलुखुम्बुको दूधकुण्ड निवासी डा. मिङ्मार ग्याल्जेन शेर्पालाई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार–२०८० खेलकूद क्षेत्रमा योगदान गर्नुभएकी तेक्वान्दो खेलाडि तथा प्रशिक्षक मकवानपुर हेटौडा निवासी निरू कुमारी मगरलाई प्रदान गर्नुभयो । पुरस्कारको राशि एकलाख रूपियाँ र ताम्रपत्र रहेको छ । 
कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । अध्यक्ष ओलीले जबजको आयाम र विशेषताका बारेमा सम्वोधन गर्नुभएको थियो ।