detail-img

सचिव भट्टराईमाथि गरिएको अभद्र व्यवहारको निन्दा र भर्त्सना 

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराई जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बिहीबार इलाम बजारमा केही उच्छृङ्खल व्यक्तिहरूले अभद्र व्यवहार गरेको घटनाको पार्टीले निन्दा र भर्त्सना गरेको छ । 
संविधान र कानुनी व्यवस्थाअनुसार प्रदेशसभाको दुईतिहाई बहुमतबाट भएको कोशी प्रदेश नामाकरणमा असहमति राख्ने समूहले नेकपा (एमाले) र यसका नेताहरूलाई विगत केही महिनादेखि गरिरहेको आक्रमण प्रयासको पछिल्लो श्रृङ्खलाका रूपमा इलाममा सचिव भट्टराईमाथि अभद्र व्यवहार गरिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
प्रदेश सभाबाट गरिएको कोशी प्रदेश नामाकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुनसक्दैन भन्नेतर्फ उक्त समूहलाई गम्भीर ध्यानाकर्षण गराउँदै नेकपा (एमाले) ले विज्ञप्तिमार्फत् हिंसात्मक गतिविधि नियन्त्रणमा देखिएको सरकारको उदासिनताप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।