detail-img

अध्यक्ष ओली राष्ट्रिय धान दिवसका विभिन्न कार्यक्रममा–‘खाद्यान्नमा आत्मनिर्भर बन्न ठूलो परिमाणमा उत्पादन गर्नुपर्छ’

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज चितवनमा रोपाइँ कार्यक्रममा सहभागी हुनुभयो ।अध्यक्ष ओलीले खेतमा मेशिन र हातले धान रोप्नुभएको थियो । 


अध्यक्ष ओलीले धान दिवसका अवसरमा भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताउनुभयो । 
खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सके परनिर्भर हुन नपर्ने उल्लेख गर्दै उहाँले कुनै पनि उत्पादन ठूलो परिमाणमा गर्नुपर्ने वताउनुभयो । उत्पादनलाई प्रविधिसँग जोड्न जरूरी रहेको उल्लेख गर्दै उहाँले  राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष ओलीले नेपाल कृषिप्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो । हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यहीँ उत्पादन हुन्छ । त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन ।
कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्याउनुपर्ने उहाँको भनाइ थियो । कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्ने वताउँदै अध्यक्ष ओलीले उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधीकरण गर्नुपर्छ भन्नुभयो । 
यसैगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आयोजना गरिएको कृषि उद्यमबाट समृृद्धि विषयक कार्यक्रममा अध्यक्ष ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसर नेपालमै भएको बताउनुभयो ।
उहाँले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताउनुभयो ।
अध्यक्ष ओलीले विदेश गएर कामदार बन्नुभन्दा स्वदेशमै उद्यमी बन्नु उपयुक्त भएको बताउनुभयो । उहाँले पढेका सक्षम विद्यार्थी बाहिर गएर कामदार मात्रै बन्ने हुँदा पढाइ सकिएपछि विदेश जाने सोच बनाउन नहुने बताउनुभयो ।
हरेक काममा सक्रियता भए मात्रै सफल हुने वताउँदै अध्यक्ष ओलीले  भन्नुभयो– सक्रियता छ जीवन छ, सक्रियता छैन जीवन छैन ।’

अध्यक्ष ओली विहान भरतपुरमा आयोजित पदयात्रामा सहभागी हुनुभयो । उहाँसँगै पत्नी राधिका शाक्य पनि राष्ट्रिय धान दिवसका कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज पार्वत गुरूङ लगायत नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो ।