detail-img

उपाध्यक्ष नेम्वाङको प्रश्न– एमालेका नेताहरूमाथि ‘पहिचानको ढुङ्गा’ बर्षाएर कोशी प्रदेशको नाम परिवर्तन होला ?

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पहिचानका नाममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र यस पार्टीका अन्य नेताहरूमाथि ढुङ्गा प्रहार गरेर कोशी प्रदेशको नाम परिवर्तन नहुने वताउनुभएको छ । 
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै नेम्वाङले आदिवासी जनजातिका अधिकारका लागि महत्वपूर्ण पहलकदमी लिने नेकपा (एमाले) र यसका नेताहरूमाथि ‘पहिचानको ढुङ्गा’ बर्षाइएकामा आश्चर्य प्रकट गर्नुभयो । 
‘हामी कुनै पनि विषयमा असहमति हुँदा शान्तिपूर्ण विरोध गरिनुपर्छ भन्नेमा विश्वास गर्छौं, उपाध्यक्ष नेम्वाङले प्रश्न गर्नुभयो– कार्यकर्ता भेट्न जाँदा नेकपा (एमाले) का अध्यक्षमाथि ढुङ्गा प्रहार गरेर नाम परिवर्तन होला त ? के यो नाम परिवर्तन गर्नकै लागि हो ? 
उपाध्यक्ष नेम्वाङले भन्नुभयो– समाजमा रहेका जातीय, भाषिक, साँस्कृतिक सबै खालका विभेद समाप्त हुनुपर्छ भन्ने कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति नेकपा (एमाले) माथि जानेर हानेको होला भन्ने मलाई लाग्दैन ।


प्रदेशको नामाकरण अधिकार संविधान लेख्दा नै प्रदेश सभालाई दिइएको हुँदा कोशी लगायत सबै प्रदेशको नामाकरण प्रदेश सभाले विधि र प्रक्रिया अनुसार दुईतिहाई बहुमतबाट पारित गरी राखिएको स्पष्ट गर्दै संविधान सभाका अध्यक्ष नेम्वाङले असन्तुष्ट समूहले जनताको मन जितेर प्रदेश सभामा दुईतिहाई पुर्याई नाम परिवर्तन गर्नसक्ने व्यवस्था पनि संविधानमै भएको वताउनुभएको छ । 
उहाँले भन्नुभयो– कोशी प्रदेश नामाकरणमा नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत पार्टीका प्रदेश सभा सदस्यले खर्याक खुरुक मतदान गरे तर पहिचानको ढुङ्गा र मोविल एमालेका नेतामाथि ? यसलाई कसरी हेर्ने ?
उपाध्यक्ष नेम्वाङले पहिचानका नाममा कोशी प्रदेशमा भइरहेका हिंसात्मक गतिविधिमा विगतमा एम्बुस थाप्नेहरूकै संलग्नता रहेको छ भन्ने आफूले सुनिरहेको वताउनुभयो ।

पहिचानको मुद्दा लोकतन्त्रविरोधी हतियार बन्न नहुने
कार्यक्रममा जनताको बहुदलीय जनवाद (जबज) र राज्यको रूपान्तरण विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेकपा (एमाले) का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारीले नेपाली समाजलाई दिएको महत्वपूर्ण उपहार भएको वताउनुभयो । 
विश्व कम्युनिष्ट आन्दोलन सङ्कटमा परिरहेको समयमा जनताको बहुदलीय जनवादले नेपाली कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन गरेको धारणा उपमहासचिव ज्ञवालीले राख्नुभयो । 
नेता ज्ञवालीले श्रमजीवी वर्गको हित र मुक्तिका लागि मार्क्सवाद बाहेक अर्को कुनै सिद्धान्त नरहेको र मार्क्सवादलाई सिर्जनात्मक ढङ्गले प्रयोग गर्दा यसको सान्दर्भिकता आज पनि छ भन्ने मान्यतामा जबजको प्रतिपादन भएको स्पष्ट गर्नुभयो । 
कार्यवाहक महासचिव ज्ञवालीले संवैधानिक राजतन्त्रलाई सिद्धान्तका रूपमा आत्मसात गरेको नेपाली कांग्रेसलाई सामाजिक न्याय र गणतन्त्रको पक्षमा ल्याउन र बन्दुकको नालबाट मात्र राज्यसत्ता प्राप्त गर्न सकिन्छ भनि सशस्त्र सङ्घर्षमा रहेको माओवादीलाई शान्तिपूर्ण बाटोबाट, जनताको अभिमतबाट राज्यसत्तामा पुग्न सकिन्छ भन्ने विश्वास सिर्जना हुनुमा जबजको सफलता हो भन्नुभयो । 
उहाँले समाजवाद उन्मुख संविधान निर्माणका लागि वैचारिक मार्गदर्शन गर्नुका साथै जबजले राष्ट्रिय राजनीतिलाई सही बाटोमा हिँडाउने काम गरेको वताउनुभयो । जबजले सामाजिक न्यायसहितको लोकतन्त्रको पैरवी गर्ने भनाइ नेता ज्ञवालीले राख्नुभयो । 
उपमहासचिव ज्ञवालीले हामी सबैखालमा सामाजिक विभेद अन्त्य गर्न चाहन्छौं, सँगसँगै वर्गीय विभेद अन्त्य गर्न चाहन्छौं, त्यसका लागि समाजवादी अर्थ व्यवस्थाको जरूरी छ भन्नुभयो । 
उहाँले पहिचानको प्रश्नलाई स्वाभाविक र सकारात्मक लिनुपर्छ भन्दै तर त्यो पहिचानको मुद्दा लोकतन्त्रविरोधी हतियार बन्न नहुने स्पष्ट गर्नुभयो । 
कोशी प्रदेश नामाकरणका सन्दर्भमा उपमहासचिव ज्ञवालीले प्रदेश सभाका ९१ प्रतिशत सदस्य जो जनताका वैधानिक प्रतिनिधि हुन् उनीहरूको निर्णयप्रतिको असन्तुष्टीलाई लिएर हिंसा र अतिवादको पक्षमा जानुहुँदैन भन्नुभयो । भोलि प्रदेश सभामा दुईतिहाइ ल्याएर नाम परिवर्तनमा गएँ भन्ने बाटो संविधानमा रहेको भनाइ उहाँले राख्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले लोकतान्त्रिक आदिवासी महासंघ, नेपालको सांगठानिक कार्ययोजनाका सम्बन्धमा मन्तव्य राख्नुभएको थियो । 
नेकपा (एमाले) का पोलिटव्युरो सदस्य गोकुल घर्तीले नेपालको कम्युनिष्ट आन्दोलन र आदिवासी जनजाति आन्दोलनको अन्तरसम्बन्ध विषयमा कार्यपत्र प्रस्तुत गर्दै आदिवासी जनजातिको पहिचान र अधिकारका सन्दर्भमा प्राप्त उपलब्धिहरू नेकपा (एमाले) र यसका नेताहरू सरकारमा रहेको समयमा भएका पहलकदमीका उपलब्धि हुन् भन्नुभयो । 
उहाँले नेपालको कम्युनिष्ट आन्दोलन र जनजाति आन्दोलनबीच घनिष्ट सम्बन्ध रहेको वताउनुभयो । 
कार्यक्रममा डा. मुक्तसिं लामाले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । 
जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीको अध्यक्षता महासंघका अध्यक्ष पासाङ शेर्पाले गर्नुभएको थियो । कार्यक्रममा जननेता मदन भण्डारीको तस्वीरमा माल्यार्पण गरिनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता भण्डारीको योगदानको चर्चा गरिएको थियो ।