detail-img

संसद सुचारु गर्ने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आपत्तिजनक अभिव्यक्तिका कारण गत सातादेखि अवरूद्ध संसद बैठक सुचारु गर्ने विषयमा प्रधानमन्त्री ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज सिंहदरबारमा छलफल भयो । 
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मेहनत गरेको र पटक पटक दिल्ली जानुभएको सार्वजनिक अधिव्यक्ति दिएपछि यो अभिव्यक्ति राष्ट्रिय स्वाभिमान, स्वाधीनता विरुद्ध रहेको र सार्वभौम संसदको अपमान भएको ठहर गर्दै नेकपा (एमाले) ले गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा माग राखी संसद अबरुद्ध गर्दै आएको छ ।  
तीन शीर्ष नेताबीच आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिका बारेमा र प्रमुख विपक्षी दल नेकपा (एमाले) को मागका सम्बन्धमा संसदमा सम्बोधन गर्ने र संसदको गतिरोधलाई हटाउने विषयमा नेकपा (एमाले) सकारात्मक रहे पनि प्रधानमन्त्री प्रचण्डको सचिवालयबाट प्रकाशित विज्ञप्ति र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्तिका कारण बन्नै लागेको सहमति भाँडिएको छ ।   
प्रधानमन्त्री प्रचण्डको सचिवालयद्वारा असार २१ गते प्रकाशित विज्ञप्तिमा नेकपा (एमाले) माथि भ्रष्टाचारविरोधी अभियान रोक्ने प्रयास गरेको लगायत गम्भीर र कपोलकल्पित आरोप लगाइएको थियो । ती आरोपहरू फिर्ता हुुनुपर्ने नेकपा (एमाले) को अडान रहेको छ । 
माओवादीका कारण सहमतिको वातावरण भाँडिएको  र प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरी प्रतिनिधि सभाको आजको  बैठक भोलिसम्मका लागि स्थगित गर्न आग्रह गर्नुभएपछि आजको बैठक पनि सूचना टाँसेर स्थगित गरियो । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताउनुभयो ।
अध्यक्ष ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोप फिर्ता नभएकाले संसद सुचारु गर्ने कुरामा सहमति हुन नसकेको स्पष्ट गर्नुभयो । 
यसैबीच प्रतिनिधि सभामा नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने पार्टीको अडान यथावत रहेको वताउनुभयो ।