detail-img

प्रधानमन्त्रीद्वारा आफ्नो अभिव्यक्तिप्रति गल्ती स्वीकार, एमालेमाथि लगाएका लान्छना पनि फिर्ता लिई दुःख व्यक्त 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्तिप्रति गल्ती स्वीकार गर्दै दुःख व्यक्त गर्नुभएपछि अवरुद्ध संसद बैठक सुचारू भएको छ । 
संसद बैठक बस्नु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति निर्माणका लागि प्रधानमन्त्रीे कार्यालय, सिंहदरबारमा छलफल भएको थियो । 
शीर्ष नेताबीच प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्ति र त्यसयता प्रकाशित विज्ञप्ति र नेकपा (एमाले) माथि विज्ञप्तिमार्फत् लगाइएका लान्छना फिर्ता लिँदै दुःख व्यक्त गर्ने सहमति भएको थियो । 
सोही सहमति बमोेजिम प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै आफ्नो अभिव्यक्ति, त्यसपछिको विज्ञप्तिप्रति दुःख व्यक्त गर्दै आजको सम्बोधनलाई नै आधिकारिक अभिव्यक्ति मान्न आग्रह गर्नुभयो । 
उहाँले आफ्नो अभिव्यक्ति भावनात्मक भएको स्पष्टिकरण दिँदै आगामी दिनमा त्यस्ता अभिव्यक्ति नदोहोर्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । 
प्रधानमन्त्री प्रचण्डले गत साता पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मेहनत गरेको र पटक पटक दिल्ली गएको अभिव्यक्ति दिनुभएको थियो । 
नेकपा (एमाले) ले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता विरोधी रहेको र यसबाट सार्वभौम संसदको अपमान भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरी संसद बैठक अबरुद्ध गर्दै आएको थियो । 
आज भएको तीन दलका शीर्ष नेताबीच छलफल र सहमतिपछि बसेको नेकपा (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्रीले गल्ती स्वीकार गर्दै दुःख व्यक्त गर्नुहुने भएपछि संसद बैठक सुचारु गर्ने निर्णय गरेको हो । 
बैठकमा अध्यक्ष ओलीको भनाइ उद्धृृत गर्दै प्रतिनिधि सभामा नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले भन्नुभयो– प्रधानमन्त्री प्रचण्डले असार १८ गतेको आफ्नो अभिव्यक्तिप्रति गल्ती स्वीकार गर्ने, त्यस्तो बोल्न गएकोमा दुःख व्यक्त गर्ने र भविष्यमा यस्तो कमजोरी नदोहोर्याउने तथा असार २१ गते आफ्नो सचिवालयले प्रकाशित गरेको प्रेस नोटले विपक्षीलाई पुग्न गएको चोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदन चल्न दिने कुरा भएको छ ।
यसैगरी प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौम संसद र नेपाली जनतामाथिको अपमान भएको, भारत भ्रमणका क्रममा लिपुलेकको बारेमा नबोलेको विषयमा स्पस्ट पार्न आग्रह गर्नुभयो ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै बाँस्कोटाले भन्नुभयो– प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्यो । यो जनता दुःखी र सार्वभौम सत्तामाथि हमला हुने कुरा र प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन । देशको लागि स्वीकार्य भएन । चारतारे, लालतारे झण्डालाई जेसुकै होस् तर चन्द्रसूर्यको झण्डाका लागि स्वीकार्य भएन ।