detail-img

नेकपा (एमाले) नयाँ युग ल्याउने नयाँ सङ्कल्प बोकेको पार्टी होः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) नयाँ युग ल्याउने नयाँ सङ्कल्प बोकेको पार्टी भएको वताउनुभएको छ । 
नेकपा (एमाले)को तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरूको राष्ट्रिय भेलालाई आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) सबैभन्दा नयाँ विचार, नीतिकार्यक्रम र योजना बोकेको तथा राजनीतिक र विभिन्न अनुभवले परिपक्व नयाँ पार्टी भएको वताउनुभयो । 
नेकपा (एमाले) लामो इतिहास र अनुभव भएको र सबै उमेर समूहका मानिस रहेको पार्टी भएको चर्चा गर्दै उहाँले यसले सिङ्गो समाज र जनसङ्ख्यालाई प्रतिनिधित्व गर्ने वताउनुभयो ।


अध्यक्ष ओलीले पार्टीमा अवसर पाउने जति लिइसकेका स्वार्थी (पार्टीले प्रधानमन्त्री बनाएका माधव, झलनाथहरू) तत्वहरू नेकपा (एमाले) र  कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने योजनाका साथ पार्टीबाट बाहिरिए पनि त्यस चक्रव्यूहलाई तोडेर, लोकप्रिय मतमा पहिलो हुँदै नेकपा (एमाले) अहिलेको अवस्थामा स्थापित भएको चर्चा गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– पार्टीमा निरन्तर काम गर्दा पनि अवसर नपाएकाले पार्टी छाडेका छैनन् । खानसम्म खाएर किर्ना भएकाले पार्टी छोडेका छन् । प्रधानमन्त्री भएर पनि पार्टीबाट केही पाइन भन्दै रुदै हिँडेका छन् । हामीमा त्यो प्रवृत्ति पलाउनु हुँदैन । 
पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आफ्नो गन्तव्य बनाएको र त्यस गन्तव्यमा पुग्न आफ्ना सम्पूर्ण प्रयास केन्द्रित गरेको वताउँदै उहाँले समाज परिवर्तन गर्ने यो अभियान सामान्य प्रयासमै पूरा नहुने हुँदा सम्भावित चुनौती र असहज परिस्थितिमा पनि अत्यन्तै इमान्दारी र सक्रियताका साथ काम गर्नुपर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले पार्टीको गन्तव्यलाई द्रूत गतिका साथ अगाडि बढाउन मिसन–२०८४ र मिसन–५१ प्रतिशतलाई सफल पार्नुपर्ने हुँदा जनप्रतिनिधिहरूलाई इमान्दार भई जनशैलीमा काम गर्न र नमूना जनप्रतिनिधि बन्न निर्देशन दिनुभयो । 
स्थानीय तहलाई बलियो बनाउनुपर्छ भन्ने अवधारणा नेकपा (एमाले) को रहेको र त्यसभित्र जिल्ला समन्वय समिति पनि पर्ने स्पष्ट गर्दै उहाँले जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरूलाई जिल्लाको समग्र विकासको योजना बनाउन, स्थानीय तहका कामको अनुगमन गर्न, आवश्यक सुझाव दिने काम गर्न आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले भोलि कहाँ पुग्ने भन्ने कुनै ठेगान नभएका पार्टीहरूले देश बनाउने कुरा कल्पना गर्न नसकिने वताउँदै नयाँ पार्टीका नाममा कोही भ्रममा पर्न नहुने वताउनुभयो । 
कोशी प्रदेशको नामाकरणपछि असन्तुष्ट पक्षका रूपमा लिम्बुवान देखिए पनि ढुङ्गा हान्ने माओवादी कार्यकर्ता भएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो–कोशी नामाकरणमा असहमतिका नाममा देशमा साम्प्रदायिक विद्वेष सिर्जना गर्न खोजिएको छ । कोशी नामाकरण उल्टाउन सके पहिचानको आगो अन्यत्र पनि सल्काउन सकिन्थ्यो भन्ने ध्येयबाट हिंसात्मक गतिविधि गर्दैछन् । 
कोशी नाम पहिले अञ्चल छँदा पनि रहेको र यसभित्र तामाङ, लिम्बुदेखि तराईबासी थारु, मेचेसम्म अट्ने हुँदा कोशी नामाकरणमा गर्व गर्नुपर्ने वताउँदै चिप्लेकीराजस्ताहरू नामाकरण प्रस्ताव पारित गरेपछि गल्ती गरिएछ भनी पछुताउँदै छन् भन्नुभयो ।  
पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको आयोजनामा भएको भेलामा पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, पोलिटव्युरो सदस्य तथा स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र पोलिटव्युरो सदस्य परशु मेघी गुरूङले प्रशिक्षण दिनुभएको थियो । 
स्थानीय विभाग सचिव हर्कराज राईले सञ्चालन गर्नुभएको कार्यक्रममा जिसस महासंघका पूर्व अध्यक्ष नवराज गेलालले जिससको अघिल्लो कार्यकालको अनुभव प्रस्तुत गर्नुभएको थियो ।