detail-img

पार्टीका कार्यालयहरूलाई  अपाङ्गतामैत्री बनाउन भौतिक संरचनाको अध्ययन गर्ने निर्णय

काठमाडौं । नेकपा (एमाले) सामाजिक सुरक्षा तथा समाज कल्याण विभागले नेकपा (एमाले) का कार्यालयहरूलाई अपाङ्गता मैत्री बनाउने पहल स्वरुप पार्टीका भौतिक संरचनाहरूको अध्ययन गर्ने भएको छ । 
पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्य र पार्टीका पोलिटव्युरो सदस्य तथा विभागका प्रमुख सुशीला नेपालको अध्यक्षतामा आइतबार बसेको विभागको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । 
बैठकमा महासचिव शंकर पोखरेल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । 
बैठकले पार्टीका भौतिक संरचना अपाङ्गतामैत्री र लैङ्गिक मैत्री बनाउन स्तनपान कक्षको सम्भाव्यता अध्ययन गरी पार्टीलाई सुझाव दिने निष्कर्ष निकालेको छ भने विभागको बार्षिक कार्ययोजना निर्माणका लागि कार्यदल बनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले यस विभागको विषयबस्तु र जिम्मेवारी धेरै क्षेत्र र वर्गलाई समेट्ने खालको भएकाले तोकिएको कार्यक्षेत्र र जिम्मेवारीलाई अझ गहिरो र  स्पस्ट रूपमा बुझेर कार्य योजना बनाउनुपर्ने वताउनुभयो । 
बैठकमा महासचिव पोखरेलले गतबर्ष स्थानीय तथा सङ्घीय निर्वाचनको बर्ष रहेकाले निर्वाचन र ग्रासरुट अभियानमा जुट्नु परे पनि विभाग विभागीय काममा क्रियाशील नै रहेको वताउँदै अब थप योजना बनाएर तोकिएको जिम्मेवारी र कामहरू गर्न निर्देशन दिनुभयो । 
उहाँले विभागको कार्यक्षेत्रका विषयमा जानकारी गराउँदै पार्टीको नीति निर्माणमा सुझाव दिने, सरकारमा हुँदा सरकारको नीति र कार्यक्रममा सुझाव प्रदान गर्ने र प्रतिपक्षमा हुँदा जनताका मुद्दाको ध्यानाकर्षण गर्ने दिशामा विभागलाई परिचालित गर्नुपर्ने वताउनुभयो ।  
बैठकमा पोलिटव्युरो सदस्य तथा विभागका पूर्व प्रमुख जुलीकुमारी महतोले आफ्नो कार्यकालमा भएका विभिन्न गतिविधि र उपलब्धिहरूका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले पार्टीको नयाँ कार्यविभाजनपछि विभाग प्रमुखको जिम्मेवारीमा आउनुभएकी पोलिटव्युरो सदस्य सुशीला नेपाललाई माइन्युट हस्तान्तरण गर्दै कार्य सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । 
बैठकले विभागको बार्षिक कार्ययोजना बनाउनका लागि सचिव पुस्कर खातीको संयोजकत्वमा तीनसदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा जगत बस्नेत र निर्मला धिताल सदस्य हुनुहुन्छ । कार्यदलले यही असार  मसान्तभित्रमा कार्ययोजनाको मस्यौदा तयार गर्ने छ ।  यसैगरी बैठकले जेष्ठ नागरिक नीति बन्ने क्रममा रहेको र पहिलो मस्यौदा बनेको हँुदा उक्त मस्यौैदालाई उत्कृष्ट नीति बनाउन थप सुझाव दिनका लागि सतिस शर्मा संयोजक र तिलोत्तम पौडेल, जगदीशप्रसाद अधिकारी,  ऋतु भट्ट राई र उज्वेन सिंह सदस्य रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको छ । 
विभाग प्रमुख सुशीला नेपालले विभागलाई तोकिएको जिम्मेवारी अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा चाडै नै सबै क्लस्टरका विज्ञहरूको सहभागिता रहने गरी सामाजिक सुरक्षा तथा समाज कल्याण सम्बन्धीको विचार गोष्ठीको आयोजना गर्न आवश्यक रहेकाले त्यसको तयारीमा लाग्ने वताउनुभयो ।