detail-img

पार्टी निर्माण क्रियाशील सदस्यहरूको जगमाः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी निर्माण क्रियाशील सदस्यहरूको जगमा हुने वताउनुभएको छ । नेकपा (एमाले) बाग्मती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा सम्वोधन गर्दै महासचिव पोखरेलले पार्टी कमिटीमा क्रियाशील नेतृत्व ल्याउन छिटो अधिवेशन गर्न लागिएको स्पष्ट गर्नुभयो । 
उहाँले यसबर्षलाई अधिवेशन बर्ष मान्दै सबै प्रदेश, जिल्ला, स्थानीय तह लगायतका पार्टीका कमिटीहरूको अधिवेशन गर्ने योजना बनाइएको स्पष्ट गर्नुभयो । महासचिव पोखरेलले पार्टी शुद्धीकरणका क्रममा केही सदस्यहरूको सदस्यता नवीकरण नहुँदैमा चिन्ता लिनु नपर्ने वताउँदै निष्क्रियहरूलाई कमिटीको कामबाट विदा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
उहाँले प्रदेश र मातहतका सबै पार्टी कमिटीले लक्ष्यित समुदायलाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै निर्देशन दिनुभयो ।


महासचिव पोखरेलले पार्टीलाई भावनात्मक रूपमा र योजनाका हिसावले एकताबद्ध बनाई अगाडि बढाउने उद्देश्यका साथ पार्टीले  पदाधिकारीदेखि केन्द्रीय कमिटीका सदस्यहरूलाई नयाँ ठाउँको जिम्मेवारीका साथ कार्यविभाजन गरेको र यसबाट स्थानीय अन्तरविरोध छन् भने तीनको समाधान हुने विश्वास गरिएको स्पष्ट गर्नुभयो । यस कार्यविभाजनले पार्टीमा देखिएको गतिहीनतालाई तोड्ने अपेक्षा गरिएको भनाइ महासचिवले राख्नुभयो । 
महासचिव पोखरेलले आन्दोलनको भविष्यका लागि कमिटीमा अनुभव र ऊर्जा जोड्नुपर्ने वताउँदै भन्नुभयो– अधिवेशनबाट नयाँलाई पार्टी कमिटीमा राखेर काम लगाउन ढोका खुल्ने छ । निर्वाचनमा असहयोग र अन्तरघात गर्नेहरूलाई दण्डित गर्ने काम पनि अधिवेशनबाटै हुने उहाँको भनाइ छ । 
पार्टीले जनसंगठन, प्रचार र विचारधारात्मक कामलाई जोड दिइरहेको र त्यस अनुसार कार्ययोजना र कार्यविभाजन गरिएको महासचिव पोखरेलले वताउनुभयो । महासचिव पोखरेलले विचारधारात्मक जगमा पार्टी निर्माण गर्नुपर्ने र पार्टी सदस्य वैचारिक तथा राजनीतिक रूपमा दीक्षित हुनुपर्ने वताउँदै नयाँ पार्टी सदस्यहरूलाई शपथ ग्रहण गराउनु अघि अनिवार्यरूपमा आधारभूत तहको प्रशिक्षण दिने व्यवस्था गर्न निर्देशन दिनुभयो । 
उहाँले जबसम्म हामीले राष्ट्रिय शक्ति निर्माण गर्न सक्दैनौं तबसम्म देशको नेतृत्व गर्न सक्दैनौं भन्दै पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने योजनाको आलोकमा प्रदेश कमिटीलाई योजना बनाउन निर्देशन दिनुभयो । महासचिव पोखरेलले गत निर्वाचनमा बाग्मती प्रदेशमा पार्टीले अस्वाभाविक रूपमा जनमत गुमाएको कुरालाई ध्यानमा राखी जनताका समस्यासँग र जनसरोकारका विषयसँग जोडिएर काम गर्न निर्देशन दिनुभयो । 
बैठकको दोस्रोदिन मङ्गलबार स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले निर्देशनात्मक मन्तव्य राख्नुहुने छ भने प्रदेशमा प्रचार, स्कुल र जनसंगठनको कामको जिम्मेवारी पाउनुभएका केन्द्रीय कमिटी सदस्यहरूले आ–आफ्नो कार्ययोजना प्रस्तुत गर्नुहुने छ । 
नेकपा (एमाले) बाग्मती प्रदेश संगठन कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला कमिटीका अध्यक्षहरूले जिल्लाको वस्तुगत स्थिति चित्रण हुने गरी कामको रिपोर्टिङ गर्नुभएको थियो । बाग्मती प्रदेश र अन्तर्गतका जिल्ला, स्थानीय तहमा जिम्मेवारी पाउनुभएका केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र जिल्ला कमिटीका अध्यक्षहरूको सहभागिता रहेको छ । दुईदिनसम्म चल्ने बैठकले आगामी कार्ययोजना र समसामयिक प्रस्तावहरू पारित गरी सम्पन्न हुने वताइएको छ ।