detail-img

अध्यक्ष ओलीद्वारा सरकारलाई अभिनयबाट माथि उठेर काम गर्न सुझाव 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध अभियानका नाममा सरकारले अभिनय गरिरहेको वताउनुभएको छ । अध्यक्ष ओलीले सरकारलाई अभिनयबाट माथि उठेर काम गर्न सुझाव दिनुभयो । 
पार्टीको वाग्मती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई मङ्गलबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण पोहोरदेखि पेण्डिङ राखेर लुकाउन खोजिएको र नसकेपछि मात्र बाहिर आएको स्पष्ट गर्नुभयो ।  भ्रष्टाचारीलाई कारबाहीका नाममा सरकारले स्टण्टबाजी गरिरहेको र जनतालाई तमासा देखाइरहेको भनाइ अध्यक्ष ओलीले राख्नुभयो ।


अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारको तागत भनेको झुठ बोल्ने र अफवाह फैलाउने भएको वताउनुभयो । एमालेका विरूद्धमा कसरी भ्रम फैलाउन सकिन्छ, कसरी एमाले र यसका नेताहरूलाई बदनाम गर्न सकिन्छ भन्ने ढङ्गले सत्तापक्ष लागेको उहाँको  भनाइ छ । 
पशुपतिमा सुनको जलहरी जडान गरिएको विषयमा सत्ताधारीहरूले पित्तलको भनी तालिम दिएर संसदमा बोल्न लगाएको, मिटरव्याजीलाई कारबाही सम्बन्धी विधेयक पारित गर्ने समय गुजारेर गृहमन्त्री मिटरव्याज पीडित जनतालाई भ्रमपूर्ण कुरा गरी झुक्याउन माइतीघर मण्डला पुगेको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । 
नेताकार्यकर्तालाई आश्वस्त पार्दै उहाँले भन्नुभयो– म दृढताका साथ भन्न चाहन्छु, एमाले कुनै भ्रष्टाचारमा फसेको छैन । आपराधिक पृष्ठभूमि र मानसिकता भएका मानिसहरू एमालेलाई बदनाम गर्न बोल्दिन सक्छन्, तिनको भ्रममा पर्नुहुँदैन । कोही व्यक्तिले त्रुटी गरे त्यो व्यक्तिको कुरा हो भन्दै अध्यक्ष ओलीले नेकपा (एमाले) न्याय, समानता, सत्य, सदाचार र नैतिकता र इमानको बाटोमा हिंडिरहेको वताउनुभयो । 
अध्यक्ष ओलीले एमालेलाई अहिले सरकारमा जाने हतारो नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– सरकारमा जाने हतारो नभएको मात्र होइन, त्यतापट्टि हेरेका पनि छैनौं । 
उहाँले एमाले यता र उता टेको लगाएर सरकारमा जाने पक्षमा नरहेको स्पष्ट गर्दै मिसन–८४, मिसन–५१ प्रतिशत लक्ष्यका साथ पार्टी काममा लागिरहेको वताउनुभयो । 
अध्यक्ष ओलीले २०८४ मा हुने निर्वाचनमा एकल बहुमतको सरकार बनाउने अभियान सफल पार्ने गरी काममा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 
गत निर्वाचनमा राजधानी रहेको बाग्मती प्रदेश र काठमाडौंमा व्यहोरेको परिणामले पार्टीलार्ई झस्काएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– हरेक कार्यकर्ताले आफैलाई सोध्नुपर्छ यस्तो परिणाम आउनुमा मेरो कमजोरी रह्यो रहेन ? कति खटेँ, कति इमान्दार भएर काम गरेँ, जनशैली कति अपनाएँ ? 
पार्टीविरूद्ध चौतर्फी घेराबन्दी र गठबन्धन गरिए पनि आन्तरिक एकता कायम गरी खटेको भए यो परिणाम आउने थिएन भन्दै अध्यक्ष ओलीले गम्भीर आन्तरिक कमजोरी भएको र ती सच्याउनु जरूरी छ भन्नुभयो । 
‘राजधानी प्रदेश र काठमाडौं उहिलेदेखि एमालेको गढ हो,’ उहाँले भन्नुभयो– हामीप्रति, परिवर्तनप्रति यहाँका जनताको आकर्षण र समर्थन अहिले पनि छ, हामीले उनीहरूको भावनालाई सदुपयोग गर्न सकेनौं ।
सफलताका लागि एकता, एकता र एकता भन्ने होचिमिन्हको भनाइलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्दै उहाँले पार्टीका कार्यकर्ताहरूलाई ‘हिजो साथीका वात नसहँदा आज विरोधीको लात’ सहनुपरेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ओलीले पार्टीका नेताकार्यकर्ताहरूलाई धेरै राजनीतिक कुरा भन्दा जनशैली अपनाएर काम गर्न आग्रह गर्नुभयो । 
उहाँले एमालेलाई कमजोर बनाउन पटक पटक विभिन्न प्रयास भएका र ती सबै प्रयास असफल पारिएको वताउँदै त्यस्तो प्रयास कसैको नगर्दा हुन्छ भन्नुभयो । अध्यक्ष ओलीले चारैतिरबाट डस्न खोज्दा पनि एमाले उठेर अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो– सर्पले हामीलाई चारैतिरबाट र घरभित्र पसेर डस्न खोजे, अलिअलि कार्यकर्ताले धुवाँ लगाइ दिएपछि सर्पहरू भागे ।
नेकपा (एमाले) विगतदेखि अहिलेसम्म धेरै चुनौती र बाधाहरू पन्छाउँदै अगाडि बढेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो– हामीले राणाशासन, पञ्चायत, निर्दलीय निरङ्कुश परिपाटी, निरङ्कुश राजतन्त्र, कांग्रेसको वैशको दमनचक्र, एमालेलाई सिध्याउन भनेर चलाइएको तथाकथित जनयुद्ध र पछिल्लो समयको चौतर्फी घेराबन्दी, षड्यन्त्र, संयुक्त प्रहार एवं आक्रमण देखेभोगेका छौं ।
यी सबै बाधा व्यवधान हटाउँदै आज फेरि नेकपा (एमाले) मजबुत अवस्थामा छ, यस पार्टीलाई कसैले सिध्याउँछु भन्ने कुरा त परै छाडौं, यसलाई कमजोर पार्ने दुस्साहस गर्छ भने पनि त्यो दुस्साहस असफल हुनेछ । गत चुनावमा सबै मिलेर सिध्याउन खोज्दा पनि त्यो चक्रव्युह तोडेर एमाले देशकै लोकप्रिय पार्टी बनेको अध्यक्ष ओलीले बताउनुभयो । 
नेकपा (एमाले) सरकारमा रहेको समयमा धेरै काम भएका र ती कामका बारेमा जनतालाई वताउने कुरामा कमी रहेको वताउँदै भन्नुभयो– हामीले गरेका काम हामीले नबोले कसरी जनतामा पुग्छ र भ्रम निवारण हुन्छ ? हामीले गरेका विकासका काम हामीले नै जनतामा लैजानुपर्छ । अरुले काम भएन भन्छन्, हामीले काम गरेका छौं र भयो भन्छौं, सबै नेताकार्यकर्ताले पार्टी सरकारमा रहेको समयमा भएका कामका बारेमा नबोल्ने कमजोरी हटाउनुपर्छ । अध्यक्ष ओलीले पार्टी प्रवेश गर्नुभएका काठमाडौको गोकर्णेश्वर नगरपालिकाका यानप्रसाद अधिकारी, अशोक चौलागाईं, अनिस चौलागाईं, राजु सुवेदी, मुस्कान तामाङ लगायत युवालाई खादा र अविर लगाई स्वागत गर्नुभएको थियो ।
बैठकमा पार्टीका महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीले पनि निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । बाग्मती प्रदेश संगठन कमिटी अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको बैठक बार्षिक कार्ययोजना पारित गर्नुका साथै समसामयिक प्रस्तावहरू पारित गरी सम्पन्न भएको छ ।