detail-img

कर्णाली प्रदेशमा प्रशिक्षक तयार गर्न पार्टी स्कुल सञ्चालन 

वीरेन्द्रनगर (सुर्खेत) । नेकपा (एमाले) का उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट देशले निकास पाउन नसक्ने बताउनुभएको छ । 
नेकपा (एमाले) स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रमको बुधबार उद्घाटन सत्रमा बोल्दै उपमहासचिव ज्ञवालीले सङ्घीयता खारेजीको एजेण्डा बोक्नेदेखि  १४ वटा प्रदेशको पक्षमा रहेका मधेसवादी पनि वर्तमान सरकारमा रहेको यस्तो अजिवको सरकारबाट देशले निकास पाउन नसक्ने बताउनुभएको हो । 
वर्तमान गठबन्धनको सिद्धान्त भनेकै ‘मिलिजुली बसौँ, बाँडिचुडि खाऔँ’ भन्ने रहेको उहाँको भनाइ छ ।


कार्यक्रममा नेकपा (एमाले) का सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको १०औँ महाधिवेशनले लिएको नीति अनुसार पार्टीले गति लिन नसकेको बताउनुभएको छ । सचिव भट्टले पार्टीको अवस्था राम्रो हुँदा–हुँदै पनि नतिजा सोचे जस्तो नआएको बताउनुभयो । उहाँले एमालेका नेता कार्यकर्ता अनुशासित हुनुपर्ने धारणा राख्नुभयो । 
उद्घाटन सत्रमा स्थायी कमिटी सदस्य यामलाल कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशका लागि पार्टी स्कुल संयोजक विष्णु रिजालले धारणाहरू राख्नुभएको थियो । 
प्रदेश स्कुल विभाग प्रमुख विनोदकुमार शाहको अध्यक्षता, उपप्रमुख ताराकेशर गौतमको स्वागत र सचिव टेकेन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहपछि कक्षा सुरु भएको थियो । 
प्रशिक्षक प्रशिक्षणको पहिलो दिन उपमहासचिव प्रदीप ज्ञवालीले  माक्र्सवादी दर्शन र विश्व दृष्टिकोणका बारेमा कक्षा लिनुभएको थियो । 
कर्णाली प्रदेश पार्टी स्कुल संयोजक विष्णु रिजालका अनुसार, प्रदेश प्रशिक्षक तयार गर्ने गरी पार्टीको केन्द्रीय स्कुल विभागको पाठ्यक्रमबमोजिम आयोजित कार्यक्रममा कर्णालीका १० जिल्लाका ५० जना अगुवा कार्यकर्ताको सहभागिता रहेकोे छ । 
प्रशिक्षणमा उपमहासचिव ज्ञवालीले महाधिवेशनको कार्यक्रम, कार्यदिशा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका बारेमा प्रशिक्षण दिनुभएको छ भने सचिव लेखराज भट्टले नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययन प्रस्तुत गर्नुहुने छ । स्थायी कमिटी सदस्य यामलाल कँडेलले समृद्ध कर्णालीको अवधारणाका बारेमा धारणाहरू राख्नुहुने कार्यतालिका रहेको छ । 
त्यसैगरी स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलनको विगत, वर्तमान र भविष्यको आशा विषयमा र केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली क्रान्तिको मौलिक सिद्धान्त जबजको विकासक्रम विषयमा प्रशिक्षण दिनुहुने छ । 
त्यस्तै जबजको आलोकमा सुशासन र विकास तथा सदाचार, अनुशासन र शैलीका बारेमा केन्द्रीय पार्टी स्कुल विभागका सचिव घनश्याम कोइराला, राजनीतिक अर्थशास्त्र विषयमा बद्री खनाल, सूचना प्रविधिको ज्ञान र सदुपयोग विषयमा वाईपी आचार्य र संगठन व्यवस्थापन र नेतृत्व विकास विषयमा गेहेन्द्र दाहालले प्रशिक्षण दिनुहुने छ । समृद्ध कर्णाली क्षेत्र पहिचान विषयमा विष्णु रिजाल र वाईपी आचार्यले गर्नुहुने प्रस्तुतिमा समूह छलफल समेत हुने पार्टी स्कुल विभागले जनाएको छ ।