detail-img

सूचनाको प्रोपोगाण्डा मात्रै तोडे एमालेलाई कसैले पराजित गर्न सक्दैनः ज्ञवाली

सुर्खेत । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चार माध्यममा हुने प्रोपोगाण्डालाई मात्र नियन्त्रण गर्ने हो भने  नेकपा (एमाले)लाई कसैले पराजित गर्न नसक्ने बताउनु भएको छ । 
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभागले आज सुर्खेतमा आयोजना गरेको योजना तर्जुमा विस्तारित बैठकमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो ।
‘अहिले नेपाली समाज अफवाहको सिकार बनिरहेको छ अर्थात मिस इन्फर्मेशन र डिस इन्फर्मेशनले नेपाली समाज निकै आक्रान्त हुन पुगेको छ,’ ज्ञवालीले भन्नुभयो– मिस इन्फर्मेशन र डिस इन्फर्मेशनको घेराबन्दी चलिरहेको छ, यसलाई तोडेर नेपाली समाजलाई सही दिशामा लैजानुुपर्छ ।
उहाँले अहिले एमालेसहित सबै पुराना पार्टी असफल भए भन्दै नेपाली समाजलाई नै बिघटनको दिशातिर लैजाने गरी नैराश्यता छाउने गरी प्रचार भइरहेको भन्दै यसलाई चिर्नुपर्ने बताउनुभयो ।  
उपमहासचिव ज्ञवालीले भन्नुभयो–अहिलेको प्रचार शैली गलत मात्रै होइन, आपराधिक योजनाका साथ पनि गरिएको पाइएको छ, आम जनतामा नैराश्यता, एकखालको हतास मनस्थिति निर्माण गरिएको छ, अहिलेको ट्रेण्ड कायम रह्यो भने यसले नेपाली समाजलाई बिघटनको दिशातिर लैजान्छ ।

उहाँले मुलुकलाई सही दिशातर्फ अघि बढाउन भ्रामक सूचनाको घेराबन्दी तोडेर सही सूचना सम्प्रेषण गरेर जानुपर्ने बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले एमाले कमजोर हुँदा मुलुकको राष्ट्रिय स्वाभिमान कमजोर बन्ने गरेको र समृद्धि रोकिएको तथ्यलाई आम नागरिकसम्म पुर्याएर बुझाउनुपर्ने बताउनुभयो । 
‘राष्ट्रिय स्वाभिमानको रक्षाका लागि, समृद्धि र विकाशका लागि, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि, लोककल्याणकारी राज्यको अनुभूति दिलाउनका लागि नेकपा (एमाले)को नेतृत्व यो देशको लागि अनिवार्य छ । यो सत्यलाई अनेक अफवाहमार्फत जनतामा भ्रम फैलाएर सही सूचना पुग्नबाट अवरोध भइरहेको छ, हामीले यो कुरा सवै नागरिकसम्म पुर्याउनुपर्छ,’ ज्ञवालीले भन्नुभयो । उहाँले मुलुकमा रूपान्तरणकारी रणनीतिक योजना एमाले नेतृत्वको सरकारकै पालामा भएको तथ्यलाई समेत सविस्तार चर्चा गर्नुभयो ।
प्रचार भेलामा पार्टीका सचिव तथा कर्णाली इञ्चार्ज लेखराज भट्टले पार्टीले सत्तामा हुँदा वा बाहिर रहँदा पनि राष्ट्रियताका पक्षमा गरेका कामका बारेमा पार्टी कमिटीलाई आन्तरिक रूपमा तल्लो तहसम्म जानकारी गराउनु अबको प्रचार तथा प्रकाशन विभागको दायित्वमा  पर्ने वताउनुभयो ।  
पार्टीलाई रक्षा कसरी गर्ने भन्ने महत्वपूर्ण कुरा भएको उल्लेख गर्नुहुदै कर्णाली इन्चार्ज भट्टले पार्टीको रक्षामा निमित्त प्रतिआक्रमण गर्न जरूरी रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो– कर्णालीको कार्ययोजना त बनायौं तर यसलाई कसरी कार्यान्वयन गर्ने ? यसको स्रोत साधन के हो ? त्यसको एकिन गर्नुपर्छ  ।’ 
पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले पार्टीमाथि ठूलो हमला भइरहेको हुँदा प्रचारको कामलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सूचना प्रविधिको युग अनुसार प्रचारका काम तीब्र बनाउनुपनेृ वताउनुभयो ।
पार्टीका स्थायी कमिटी सदस्य यामलाल कँडेल, गोरखबहादुर बोगटी, कर्णालीमा प्रचारको संयोजक केन्द्रीय सदस्य निरज आचार्य, एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोद शाह, केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले बिषयगत रूपमा प्रशिक्षण दिनुभएको छ भने कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागका उपप्रमुख नवराज महताराले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशमा प्रेस चौतारीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 
बैठक नेकपा (एमाले) कर्णाली प्रदेश प्रचार विभाग प्रमुख सूर्यमणि गौतमको अध्यक्षमा बसेको थियो ।