detail-img

उपत्यका विशेष प्रदेशको अगुवा महिला भेला सम्पन्न

काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको अगुवा महिला भेला सम्पन्न भएको छ । 
नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यको आतिथ्यमा उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा  यही असार २४ गते बागबजारमा सम्पन्न भएको हो । 
भेलामा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज शाक्यले पार्टी सरकारमा रहँदा गरेका कामहरू र उपलब्धिलाई जनसमुदायमाझ स्पष्ट पार्दै संगठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले राष्ट्रियता जोगाउन गरिएका दूरगामी महत्वका प्रयत्नहरू, विकास र जनजीविकाका सवालमा एमालेले सरकारको नेतृत्व गरेको समयमा  गरेका काम महत्वपूर्ण रहेको वताउनुभयो । 
भेलामा नेकपा (एमाले)का केन्द्रीय सदस्यहरू उद्योग व्यवसायी विशेष जिल्ला कमिटी इन्चार्ज बालिका गिरी, युवा विद्यार्थी  विशेष जिल्ला कमिटी इन्चार्ज सीता लामा र पेशागत विशेष जिल्ला कमिटी इन्चार्ज बीना श्रेष्ठले   सहभागीहरूबाट उठेका विषयहरू लगायत सदस्यता विस्तार र संगठन निर्माणमा महिलाहरूको भूमिकाका विषयमा मन्तव्य राख्नुभएको थियो । 
भेलामा उपत्यका विशेष प्रदेश कमिटी स्कुल विभागका उपप्रमुख मिलन धरेलले पार्टीको सदस्यता विस्तार र सदस्यको महत्व विषयमा प्रशिक्षित गर्नुभएको थियो । 
भेलामा सहभागी अगुवा महिलाहरूले छलफलको क्रममा सदस्यता विस्तार र नवीकरणमा देखिएका व्यावहारिक समस्या र त्यसलाई व्यवस्थित गर्ने आ–आफ्ना सुझाव राख्नुभएको थियो । 
भेलामा उपत्यका विशेष प्रदेश कमिटीका महिला सदस्यहरू, मातहत जिल्ला कमिटी र इलाका कमिटीका महिला सदस्यहरूको सहभागिता रहेको थियो ।