detail-img

‘समाजलाई सामाजिक, साँस्कृतिक अधोपतनतर्फ जानबाट रोक्नुपर्ने’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज सामाजिक मूल्यबाट विचलित भइरहेको हुँदा त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभएको छ ।
अखिल नेपाल महिला संघले शुक्रबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा सहभागी कलाकारलाई प्रमाणपत्र वितरण तथा भानुजयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाज साँस्कृतिक अधोपतनतर्फ नलागोस् भन्ने कुरामा सबै सतर्क हुनुपर्ने वताउनुभयो । 
उहाँले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको, असत्य, झुठ र परपीडक प्रवृत्ति बढिरहेको, समाज अराजकतामा र जथाभावी बोल्नेहरूसँग रमाउन थालेको बताउनुभयो ।


उहाँले आदिकवि भानुभक्त आचार्यको आज २१०औं जन्मजयन्तीका अवसरमा उहाँको योगदानको चर्चा गर्दै अत्यन्त श्रद्धा र आदरभावका साथ श्रद्धासुमन अर्पण गर्नुभयो । 
अध्यक्ष ओलीले आदिकवि भानुभक्त आचार्यले वाल्मीकि रामायण नेपालीमा लेखेर/अनुवाद गरेर देशलाई भाषिक एकतामा बाँध्ने काममा असाधारण योगदान गरेको विचार व्यक्त गर्नुभयो । 
‘नेपाली भाषामा रामायण’ आदिकविले नेपाली समाजलाई लगाएको गुन हो, उहाँका रचनामा परिवर्तन र अग्रगामी सन्देश पाइँदैन, कमजोरी छन् तर पनि आदिकविको योगदान कुनैपनि हिसावमा अबमूल्यन गर्न सकिँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– भानुभक्तलाई सम्झँदा रामायण आउँछ र रामायणको कुरा गर्दा रामको नाम आउँछ । रामायणमा वर्णन गरे अनुसार, तथ्य, शास्त्र र प्रमाणहरूका आधारमा भन्दा रामको जन्म चितवनको माडि, ठोरीमा भएको हो । यो राजनीति गर्नका लागि भनिएको होइन, इतिहास र हाम्रो सभ्यता सम्बन्धी कुरा हो । 
कार्यक्रममा अध्यक्ष ओलीले चित्रकला प्रदर्शनीमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 
अनेमसंघका अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा अनेमसंघका इन्चार्ज सीता पौडेल लगायत नेतृहरूको उपस्थिति रहेको थियो ।