detail-img

पार्टी सदस्य सङ्ख्या घटेको छैनः संगठन विभाग 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पार्टी सदस्यता नघटेको स्पष्ट गरेको छ । 
विभागको चौधौं बैठकपछि स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा सदस्यता घटेको भन्ने बजार हल्ल्लामा कुनै सत्यता नभएको स्पष्ट गर्नुभएको छ । 
पार्टीको दशौं महाधिवेशनमा नेकपा कालमा अनुचित ढङ्गले दिइएका केही सदस्यता र नेकपा एकीकृत समाजवादीमा गएका सदस्यहरूको नाम कटौती नगरिएका कारण सङ्ख्या ठूलो देखिएको हुँदा त्यो त्रुटीलाई सच्याउने काम यसपाली सदस्यता नवीकरणका क्रममा भएको उहाँले जनाउनुभएको छ । 
संगठन विभाग प्रमुख अधिकारीले पार्टीको नवौं महाधिवेशनमा २ लाख ५६ हजार ७७२ सदस्य रहेका र अहिले त्यो सङ्ख्यामा बृद्धि भएको, उल्लेख्य सङ्ख्यामा नयाँ सदस्यताका लागि फाराम भरेको उल्लेख गर्दै विज्ञप्तिमा सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने सन्दर्भमा गुणस्तरीयतालाई ध्यान दिइएको स्पष्ट गर्नुभएको छ ।


यही २०८० साउन २ गते पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पन्न बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोख्रेलबाट महत्वपूर्ण मार्गनिर्देशन भएको थियो । 
उक्त बैठकमा निवर्तमान विभाग प्रमुख कमरेड खगराज अधिकारीको पनि उपस्थिति रहेको थियो । सबै सदस्यहरूको सक्रिय सहभागिता रहेको उक्त बैठकको अध्यक्षता विभाग प्रमुख काशीनाथ अधिकारीले गर्नुभएको थियो । 
बैठकमा पार्टी सदस्यता नवीकरण तथा विस्तारमा भएको प्रगति, आगामी वर्षको वार्षिक कार्ययोजना, अन्य पार्टी र समूहबाट प्रवेश गर्नुभएका कमरेडहरूको जिम्मेवारी व्यवस्थापन र पार्टीका प्रदेश अधिवेशनहरू आयोजनाका सम्बन्धमा गरी चारवटा विषयमा छलफल भएको जनाइएको छ ।  
तत्कालको पार्टी कामको मुख्य विषय बनेको पार्टी सदस्यता नवीकरणका सन्दर्भमा उच्च महत्वका साथ बैठकमा रिर्पोटिङ भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ– सदस्यहरूको नवीकरण कार्य केन्द्रीय कमिटीले तोकेको अन्तिम मिति असार मसान्तभित्रै सम्पन्न भइसकेको छ । सदस्यहरूको विवरण र तोकिएको शुल्क तथा लेबी प्रदेश हुँदै केन्द्रमा आउने क्रम आरम्भ भइसकेको छ । साउन पहिलो हप्ताभित्र सबै रिपोर्ट केन्द्रमा आइपुग्ने छ र दोस्रो हप्ताभित्र केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेर सम्बन्धित प्रदेशहरूमा पठाउने छ । 
स्मरणीय छ, यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे । नेतृत्वका आकाङ्क्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अनुचित ढङ्गले पनि सङ्ख्या बढ्न पुग्थ्यो । 
नेकपा (एमाले)को इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ । महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ सङ्ख्या लिन खोजिएको छ । योग्यतम् सदस्यहरूको मात्र नवीकरण गर्ने काम भएको छ । दशौं महाधिवेशनका बेला रहेको त्रुटीलाई पनि सच्याउन खोजिएको छ । त्यतिबेला कायम भएका सदस्यहरूमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढङ्गले दिइएका सदस्यहरूको ठूलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो । 
तसर्थ, त्यो नेकपा (एमाले)को वास्तविक सदस्य सङ्ख्या थिएन । यो कुरा नवौं महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ । २०७१ सालमा सम्पन्न भएको नवौं महाधिवेशनमा २ लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य थिए । तसर्थ नेकपा (एमाले)का सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन । 
सच्चा पार्टी सदस्यहरूको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ सदस्यताको प्रक्रियामा आएका पनि छन् । पार्टीको मिसन एकाउन्न प्रतिशतका सन्दर्भमा प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तिमा तीन प्रतिशत सदस्य पुर्याउने र पार्टीको एघारौं महाधिवेशनसम्ममा दश लाख गुणस्तरीय सदस्य पुर्याउने लक्ष्यका प्रति पार्टी सङ्कल्पका साथ लागिरहने छ ।