detail-img

मधेस प्रदेशमा नेतृत्व विकास कार्यशाला 

बारा । नेकपा (एमाले)को मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला विहीबारदेखि बारामा सुरु भएको छ ।
नेकपा (एमाले) मधेस प्रदेश स्कुल विभागद्वारा जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन नेकपा (एमाले)का उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले गर्नुभयो ।


उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उपमहासचिव ज्ञवालीले मधेसमा नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढीकरणका लागि केन्द्रित रहन निर्देशन दिनुभयो । मधेस प्रदेशसभामा सबैभन्दा बढी सिटमा विजय प्राप्त गरेर नेकपा (एमाले) ठूलो दल भएपनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीको बताउनुभयो । 
‘सङ्ख्यात्मक हिसाबले मधेसमा अहिले पनि एमाले ठूलो पार्टी हो तर यतिले पुग्दैन,’ ज्ञवालीले भन्नुभयो– बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने हुन्छ ।’
मधेस प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न उपमहासचिव ज्ञवालीले नेतृत्व तहलाई सुझाव दिनुभयो । उहाँले कार्यशालामा एमालेले बनाउन खोजेको मधेस र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताउनुभयो । 
भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुँदै बागमतीमा ल्याएर मधेसमा सिंचाइ सुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको भिन्नता देखाउन पनि नेतृत्वतहले गम्भीरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाइ थियो ।
कार्यशाला उद्घाटन कार्यक्रममा पार्टीका एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवं प्रदेशमा पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवं विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटव्युरो सदस्य अच्युत मैनाली, पोलिटव्युरो सदस्य ज्वालाकुमारी साहलगायत मधेस प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।