detail-img

अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच आज कम्बोडियाको राजधानी नोम्पेनमा भेटवार्ता भएको छ ।


अध्यक्ष ओलीका साथै निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया आउनुभएका विभिन्न मुलुकका २२ जना वरिष्ठ राजनीतिज्ञसँग प्रधानमन्त्री सेनले भेट गर्नुभएको हो । 
यस्तै, अध्यक्ष ओलीले कम्बोडियामा पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेट गर्नुभएको छ ।


अध्यक्ष ओलीद्वारा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन
पूर्व प्रधानमन्त्री ओलीले आजै त्यहाँ आयोजित शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।


अध्यक्ष ओली साँझ त्यहाँका उपप्रधानमन्त्री तथा परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रीद्वारा आयोजित स्वागत भोजमा सहभागी हुनुभयो । 
पूर्व प्रधानमन्त्री ओली कम्बोडियामा भोलि (जुलाई २३) मा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि त्यहाँको निर्वाचन आयोगको निमन्त्रणामा कम्बोडिया जानुभएको हो ।  आजै दिउँसो निर्वाचन आयोगद्वारा निर्वाचन पर्यवेक्षकहरूलाई निर्वाचनका बारेमा ब्रिफिङ गरिएको थियो ।  
अध्यक्ष ओलीसंगै धर्मपत्नी राधिका शाक्य, नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल र विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराइ पनि भ्रमण दलमा सहभागी हुनुहुन्छ ।