detail-img

पुष्पलालले मार्गनिर्देश गर्नुभएको बाटोमा अगाडि बढ्नु आवश्यकः कार्यवाहक अध्यक्ष पोखरेल  

काठमाडौं । आज साउन ७ गते, अर्थात् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औं स्मृति दिवस !

संस्थापक महासचिव पुष्पलालको स्मरण र उहाँप्रति श्रद्धासुमन अर्पण गर्न आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलाल स्मृति दिवस मनाइँदै छ । 
नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले श्रद्धाञ्जली सन्देशमार्फत् विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’का प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, वाम–लोकतान्त्रिक संयुक्त आन्दोलनका वैचारिक प्रणेता पुष्पलालप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ । 
कार्यवाहक अध्यक्ष पोखरेलले सन्देशमा पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले मार्गनिर्देश गर्नुभएको बाटोमा अघि बढ्नु आवश्यक रहेको वताउनुभएको छ । 
संस्थापक महासचिव पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रूपमा परिवर्तनकारी र वैज्ञानिक विचार प्रारम्भ गरी त्यस विचारलाई व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भन्ने सैद्धान्तिक आधारमा संगठन निर्माण गर्नुभएको चर्चा गर्दै कार्यवाहक अध्यक्ष पोखरेलले सन्देशमा भन्नुभएको छ– यो नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको साँच्चिकै श्रेष्ठ योगदान हो । 
पुष्पलालकै अगुवाइमा नेपाली समाजको तत्कालीन अवस्थाको गहिरो विश्लेषणका साथ नेपाली समाज र राजनीतिलाई मार्गनिर्देशन गर्ने विचारद्वारा निर्देशित संगठन– नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष पोखरेलले सन्देशमा भन्नुभएको छ–सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाई स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीले क. पुष्पलालकै अगुवाइमा पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रूपमा अघि बढाउने काम भयो । 
नेकपा (एमाले) ले सांगठनिक शक्तिको बलमा राज्य सञ्चालनको नेतृत्व गरेका बेला ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई आत्मसात गर्दै जनताको जीवनमा परिवर्तन ल्याउन नेपाललाई सुशासनयुक्त, आधुनिक, समृद्ध र सुविधासम्पन्न देश बनाउने काम अघि बढाएको र एमालेको सरकारले थालनी गरेका दूरगामी महत्वका काम जनताको साझा राष्ट्रिय उपलब्धिका रूपमा रहेको सन्देशमा उल्लेख छ । 
नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र नेपालको सर्वोपरी राष्ट्रिय आकांक्षालाई प्रतिनिधित्व गर्दै जनताबीच सक्रिय रहेको र लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता परिपूर्तिको जीवनमूल्य समेटिएको ‘परिपूर्ण लोकतन्त्र’का रूपमा अघि सारेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभएको छ– क. पुष्पलालको सपना साकार पार्न लोकतन्त्रको यही परिभाषालाई व्यवहारमा अनुवाद गर्दै आमजनताको जीवनस्तर माथि उठाउने कार्यक्रमहरू अगाडि बढाउनु हाम्रो कर्तव्य हो । र, पुष्पलालका नीतिहरूको सान्दर्भिकता पनि यिनै कुरामा छ । 
उहाँले संस्थापक महासचिव पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने सङ्कल्प गर्दै ४५ औं स्मृति दिवसमा पुष्पलालप्रति पुनः श्रद्धासुमन अर्पण गर्नुभएको छ ।