detail-img

पुष्पलाल राष्ट्रिय  विभूतिः महासचिव पोखरेल 

रामेछाप ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल राष्ट्रिय विभूति भएको वताउनुभएको छ । 
संस्थापक महासचिव पुष्पलालको ४५औं स्मृति दिवसको अवसरमा पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले भँगेरी र समग्र रामेछापको विकासका लागि  दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।   
नेकपा (एमाले) रामेछाप जिल्लाको व्यवस्थापनमा पार्टीको केन्द्रीय कमिटीले भँगेरीमा आयोजना गरेको कार्यक्रममा संक्षिप्त सम्वोधन गर्दै महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलालको जन्मथलो भँगेरीको माटोमा सम्मान कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको वताउनुभयो । 
उहाँले भन्नुभयो–रामेछाप तीनलाल अर्थात पुष्पलाल, गंगालाल र सुब्बा कृणलालको जन्मथलो पनि हो । उहाँहरु तीनै जनाले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको छ । 
राजनीतिको माध्ययमबाट पुष्पलाल र गंगालाल अनि साहित्यको माध्यययमबाट कृष्णलालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको उहाँले बताउनुभयो । 
‘कृष्णलालले मकैको खेती लेखे वापत जेल पर्नुपर्यो र उहाँको जेलमै मृत्यु भयो,’ उहाँले भन्नुभयो– परिवर्तनको आन्दोलन टङ्कप्रसाद आचार्यको नेतृत्वमा प्रजापरिषद गठन हुँदा त्यतिबेला नै लोकतान्त्रिक आन्दोलनमा लाग्नुभएका गंगालालले पहिलो पटक सबैभन्दा ठूलो सभा गरेर तत्कालीन शासकको विरुद्धमा बुलन्द आवाज उठाउँदा उहाँलाई १९९७ सालमा मृत्युदण्ड दिइयो ।’
पुष्पलालको सम्झना गर्दै महासचिव पोखरेल राजनीतिक इतिहासमा पहिलो दल गठन गरेर अघि बढ्ने सन्दर्भमा पुष्पलालले प्रजातान्त्रिक राष्ट्रिय काङ्ग्रेसको कार्यालय सचिव भएर काम गरेको पनि स्मरण गराउनुभयो । 
‘प्रजातान्त्रिक राष्ट्रिय काङ्ग्रेसका माध्ययमबाट लोकतान्त्रिक आन्दोलन सफल बनाउन नसकिने निष्कर्षसहित विश्व कम्युनिस्टको घोषणापत्र नेपालीमा अनुवाद र रूपान्तरण गरेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो,’ पोखरेलले भन्नुभयो– उहाँले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले नेकपा (एमाले) को नाममा छ ।’


पुष्पलालको ऐतिहासिक विरासत एमालेसँग
पुष्पलालको भग्नावशेष जन्मघरको माटोमाथि उभिएर महासचिव पोखरेलले पुष्पलालको जन्मथलोमा तीनलालको शालिक स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । 
‘पुष्पलालको ऐतिहासिक विरासत धानेको पार्टी एमाले हो भन्ने कुरा यहाँसम्म आएर गरेको कार्यक्रमले पनि देखाउँछ,’ उहाँले भन्नुभयो–एमाले नेतृत्वको सरकारका पालामा बनेका तीनलालका शालिक अहिलेसम्म यहाँ ल्याएर स्थापना गर्न सकिएको छैन । अहिले संघ र प्रदेश सरकारको नेतृत्व कम्युनिस्टले गरेको तर एमालेले अघि बढाएको गुरुयोजनाको बजेट त्यहि सरकारले काट्ने काम गरेको छ, यो बेठीक हो ।’ 
रामेछापलाई राजनीतिक पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने 
महासचिव पोखरेलले विभूति कुनै पार्टीका नहुने भन्दै रामेछापलाई जीवन्त नगरपालिका बनाउन र यो ठाउँलाई राजनीतिक पर्यटनको विकास गर्न पनि सबै राजनीतिक दलको सहयोग आवश्यक हुने बताउनुभयो ।  
‘रामेछाप नगरपालिका अहिले कांग्रेसले जितेको छ । मैले मेयर लवश्री न्यौपानेसँग आजै भेट गरेर यहाँको विकासमा सकारात्मक भूमिका खेल्न आग्रह गरेको छु,’ पोखरेलले भन्नुभयो–उहाँले पनि सकारात्मक रूपमा लिनुभएको छ । समग्र नगर र जिल्लाको विकासका लागि पनि तीनलालको सम्मान हुनुपर्छ । 

प्रचण्ड विदेशीका लागि मात्रै कम्फर्टेबल 
महासचिव पोखरेलले प्रधानमन्त्री   पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली जनताका लागि नभई विदेशीका लागि मात्रै कम्फर्टेबल बनेको भन्दै कम्युनिष्टका नाममा प्रचण्ड वा माधव नेपालबाट देश र जनतालाई कुनै फाइदा नहुने बताउनुभयो ।
उहाँले उनीहरूमा जनताको सेवा गर्ने कुनै दृष्टिकोण नै नभएको भनाइ राख्नुभयो ।
महासचिव पोखरेलले देश बनाउने हो भने छिमेकीलाई हेरेर हुँदैन, आफ्नै देशलाई हेर्नुपर्ने वताउँदै  देशको विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्ति आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो– हामीले राजनीतिक दल त निर्माण गरेका छौँ तर राष्ट्रको विकास र समृद्धिको लागि बलियो राजनीतिक शक्ति निर्माण गर्न सकेको छैनौँ । महासचिव पोखरेलले कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन हिँडेका माधव नेपाल अवसरवादको दलदलमा फसेका र एमालेलाई हराउन हाम्रो भूमिका महत्वपूर्ण छ भन्द्र सत्ताको बार्गेनिङमा लागेको वताउनुभयो । एमालेलाई समाप्त पार्ने र सत्ताको कांग्रेससँग बार्गेनिङ गर्ने व्यक्ति र पार्टी कम्युनिष्ट हुन नसक्ने उहाँको भनाइ छ । 

सबै देशभक्तहरू एमालेको झण्डामुनी गोलबन्द हुनु आवश्यक 
महासचिव पोखरेलले यतिबेला दुई खाले आर्थिक सङ्कटबाट मुलुक अघि बढिरहेको वताउँदै मुलुकबाट नीतिगत विचलनको अन्त्य गर्न र  वैदेशिक हस्तक्षेप रोक्न बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको वताउनुभयो ।  
उहाँले त्यसका लागि एमालेको झण्डामुनी गोलबद्ध हुन सबै देशभक्त राजनीतिक नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।  
‘राजनीति अस्थिरता हटाउने सरकार मुलुकलाई चाहिएको छ । त्यो भनेको देशभक्तहरू एमालेको झण्डामुनि आउनुपर्छ,’ उहाँले भन्नुभयो– त्यसका लागि राजनीतिक ध्रुवीकरण अघि बढाउँ र पुष्पलालले बनाएको पार्टी वरिपरि बसौँ ।’ 
उहाँले साउन ६ गते बीपी स्मृति दिवस र ७ गते पुष्पलाल स्मृति दिवस भएको भन्दै दुबै नेताका आ–आफ्ना विषेशता रहेको बताउनुभयो । 
‘बीपीले पञ्चायतका विरुद्ध एक्ला–एक्लै लड्ने भन्नुभयो, पुष्पलालले संयुक्त जन आन्दोलनको नीति लिनुभयो । त्यो नीति उहाँको जीवनकालमा त पूरा भएन  तर पुष्पलालको सपना मदन भण्डारीले पूरा गर्नुभयो ।  पुष्पलालको नीति अनुसार नै नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई जनआन्दोलनको सर्वोच्च कमाण्डर बनाएर लड्दा २०४६ सालको जनआन्दोन सफल भयो ।’
उहाँले नेपालको कम्युनिस्ट आन्दोनको विचारधारा संगठन, सिद्धान्त र सङ्घर्ष भएको भन्दै अहिले अवसरवाद मौलाएका बेला वैचारिक धारबाट अराजकताको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो । 
समाजमा फैलिएको अराजकताको अन्त्यका लागि बलियो शक्ति निर्माण आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।  
‘राणा, पञ्चायत र निरङ्कुश राजतन्त्र अन्त्य भयो । हामी राजनीतिक परिवर्तनका लागि च्याम्पियन भयौँ । अब राजनीतिसँगै सामाजिक परिवर्तन आवश्यक छ । लोकप्रियतावाद अन्त्यमा गएर यथास्थितिवादी धारमा सकिन्छ,’ उहाँले भन्नुभयो, ‘दलहरू कहिल्यै पुरानो हुँदैनन् । हामी परिवर्तनशील छौँ । एमालेको छ वटा नेतृत्व परिवर्तन भयो । एमालेले छ वटा नेतृत्व परिवर्तन गर्दा कांग्रेसका चार वटा नेतृत्व फेरिए । तर, माओवादीको अहिलेसम्म नेतृत्व फेरिएको छैन । म पुष्पलालको जन्मस्थल उभिएर प्रतिज्ञा गर्छु– आर्थिक, सामाजिक परिवर्तनको दिशातर्फ सबै मिलेर अघि बढौँ र यसमा सबै प्रतिबद्ध बनौं ।’

कार्यक्रममा महासचिव लगायत नेताहरूले पुष्पलालको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । भँगेरीमा नेताहरूको सहभागितामा वृक्षरोपण गरिएको थियो भने कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पुष्पलालको सम्मानमा यहाँको विकास र समृद्धि आवश्यक भएको भन्दै यहाँको विकासमा दलगत चश्माबाट हेर्नु नहुनेमा जोड दिनुभयो । 
कार्यक्रमा पार्टी स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेशका इञ्चार्ज गुरु बराल, स्थायी कमिटी सदस्यद्वय लालबाबु पण्डित, कर्णबहादुर थापा, पोलिटव्युरो सदस्य कमल चौलागाई, सुजिता शाक्य, शान्ता चौधरी, लिला भण्डारी, केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज गणेश पहाडी, भक्तपुर इञ्चार्ज कैलाश ढुङ्गेल, सिन्धुली इञ्चार्ज खेम लोहनी, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, पार्टीका बाग्मती प्रदेश अध्यक्ष केशव पाण्डे, सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेत, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरू, सांसदहरू लगायतको उपस्थिति रहेको थियो ।