detail-img

अध्यक्ष ओलीसँग आइक्यापका नेताहरूको भेट

कम्बोडिया । कम्बोडियाको भ्रमणमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइक्यापका पदाधिकारीहरूसँग भेट गरी आइक्यापका गतिविधिका बारेमा जानकारी लिनुभएको छ । 
अध्यक्ष ओलीले शनिबार कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आयोजना गर्नुभएको दिवाभोजका क्रममा आइक्यापका सहअध्यक्ष पाकिस्तानका सिनेटर मुसाहिद हुसेन, आइक्यापका महासचिव दक्षिण कोरियाका आहन म्युङसुसँग भेटघाट गरी आइक्यापको निकट भविष्यका कार्यक्रमहरू र अन्य गतिविधिका बारेमा जानकारी लिनुभएको हो । 
शनिबार बिहान नै प्रधानमन्त्री हुन सेनले विभिन्न देशबाट निर्वाचन पर्यवेक्षणमा भाग लिन आएका उच्चस्तरीय प्रतिनिधिहरूलाई कम्बोडियाको विगतको द्वन्दग्रस्त अवस्था, शान्ति प्रक्रिया, विगतका  सात वटा निर्वाचन आदिका बिषयमा प्रकाश पार्नुभएको थियो । 
त्यसक्रममा प्रधानमन्त्री हुन सेनले अध्यक्ष ओली आफ्नो नजिकको मित्र रहेको र निर्वाचन पर्यवेक्षणका लागि आइदिनुभएकोमा कृतज्ञता प्रकट गर्दै केही कुरा राखिदिन अनुरोध गर्नुभएका थियो । 
सो अवसरमा बोल्दै अध्यक्ष ओलीले निमन्त्रणाका लागि धन्यवाद दिनुभयो र निर्वाचन सफलतापूर्वक सम्पन्न हुन सकोस् भनी शुभकामना दिनुभयो । 
त्यसक्रममा अमेरिकी कांग्रेस सदस्य, मलेसियाका सभामुख, कोलम्बिया, श्रीलङ्का, नाइजेरियाका पूर्व राष्टपतिहरू, रोमानिया, फ्रान्स, न्युजिल्याण्ड, इण्डोनेसिया, दक्षिण कोरिया, जापान, बङ्गलादेश, लेवनान, पाकिस्तान, अजरवैजान, टर्कि, रुस, फिलिपिन्स आदि देशका सांसदहरू र नेताहरूले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 
स्मरण रहोस् कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि संसारभरका ६५ देशका राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ । यसका अलावा १०० भन्दा बढी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू पनि सहभागी रहेको जनाइएको छ । 
कम्बोडियामा आज (आइतबार) संसदीय निर्वाचन हुँदै छ ।