detail-img

पार्टीका विगतका काम र आगामी योजना जनतालाई बुझाउनुपर्नेः सचिव बिष्ट 

पोखरा । नेकपा (एमाले)का सचिव एवम् गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण बिष्टले विगतका घटनाबाट पाठ सिक्दै एमालेलाई बहुमतसहितको  पार्टीको रूपमा स्थापित गर्ने लक्ष्य र योजनाका साथ लागिरहेको वताउनुभएको छ ।
सचिव विष्टले अब एमालेलाई जुरुक्कै  उठाउने गरी सबै नेताकार्यकर्ता कार्यक्षेत्रमा खट्नुपर्ने र जनताको घर घरमा पुगेर जनताका समस्या के छन्, उनीहरूका एजेण्डामा काम गर्नुपर्ने वताउनुभयो । 
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) कास्कीले आज आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड पुष्पलालको योगदान’ बिषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बिष्टले पार्टीले विगतमा सरकारको नेतृत्व गर्दा गरेका  विकासमा कामसँगै आफ्ना योजना र विकासका खाका जनतालाई बुझाउन सबैलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले पुष्पलालको योगदानको चर्चा गर्दै उहाँको विचार कयौं दशकसम्म सान्दर्भिक रहने धारणा राख्नुभयो ।  
नेता अधिकारीले नेपाली राजनीतिको पहिलो र नेतृत्वदायी पार्टी  कम्युनिस्ट पार्टी भएको वताउँदै त्यसको नेतृत्व अहिले एमालेले गरिरहेको र भोलि पनि एमालेले नै गर्ने नेतृत्व दावी गर्नुभयो ।  पार्टीका स्थायी कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज  थममाया थापाले विकास र समृद्धिको खाका निर्माणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभयो ।
नेकपा (एमाले) कास्कीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न विचार गोष्ठी कार्यक्रममा स्वागत उपाध्यक्ष तेजनारायण अधिकारी र सञ्चालन सचिव बैनबहादुर अधिकारीले गर्नुभएको थियो ।