detail-img

सन्दर्भः ४५औं स्मृति  दिवस– संयुक्त जनआन्दोलनका प्रणेता कमरेड पुष्पलाल 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव तथा मार्क्सवादी इतिहासकार एवं सिद्धान्तकार कमरेड पुष्पलालको आज ४५औं स्मृति दिवस हो । सर्वप्रथम कम्युनिष्ट पार्टीको स्थापना, विकास र विस्तारका निम्ति उहाँले विचारात्मक र संगठनात्मक क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै स्व. पुष्पलालप्रति हार्दिक श्रद्धासुमनसहित पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु । 
उहाँ वि.सं. १९८१ असार १५ गते बाग्मती प्रदेशको रामेछाप जिल्ला भँगेरीमा जन्मनुभई २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा दिवङ्गत हुनुभएको थियो । श्रमजीवी वर्गका महान् दार्शनिक कार्लमाक्र्स तथा फ्रेडरिक एङ्गेल्सद्वारा १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्रको प्रथम नेपाली अनुवाद गर्दै कमरेड पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई एउटा सुविचारित दिशा दिनुभयो । यसलाई नेपाली समाजको माक्र्सवादी विश्लेषण गरेर लेखिएको पहिलो सामग्री मानिन्छ । २००६ साल वैशाख १० (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरी ‘नागरिक स्वतन्त्रता, सम्पूर्ण वर्गलाई आवश्यकता’ भन्ने नारा अगाडि सार्दै ‘क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऔं’ भनी नेकपाका नाममा पहिलो पर्चा प्रकाशित गर्नुभयो । 
नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि कार्यक्रम सम्बन्धमा जारी गरिएको पहिलो घोषणापत्र (१५ सेप्टेम्बर, १९४९) मा जनवादी क्रान्तिको कार्यक्रमको खाका प्रस्तुत गर्नुभयो । कमरेड पुष्पलाल एउटा बलियो, जनआधारित कम्युनिष्ट पार्टीले मात्र जनताको जनवादी क्रान्तिलाई सक्षम नेतृत्व प्रदान गरी विजयसम्म अगाडि बढाउन सक्छ भन्ने कुरामा दृढ हुनुहुन्थ्यो । कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीको विकास र विस्तारमा क्रान्तिकारी विचार, सिद्धान्त, त्यसबाट निर्देशित संगठन र जनतासँग प्रत्यक्ष गाँसिएका मुद्दासँग सम्बन्धित भएर सङ्घर्षको मोर्चामा हरदम क्रियाशील हुनुपर्दछ भन्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो । निरङ्कुशता विरोधी संयुक्त जनआन्दोलनका प्रणेताका रूपमा आफ्नो वैचारिक सुस्पष्टता भएका नेता कमरेड पुष्पलाल आजका पुस्ताका लागि एउटा ठूलो प्रणेताको आधार बन्नुभएको छ । दोस्रो विश्वयुद्धपछि विश्वव्यापी रूपमा देखापरेको समाजवादी क्रान्तिको लहर, ब्रिटिस साम्राज्यको पतन तथा लोकतान्त्रिक शासन प्रणालीको स्थापना, विजयोन्मुख समाजवादी क्रान्ति, देशभित्र जहाँनिया राणा शासनविरोधी आन्दोलनका सन्दर्भमा संगठित राजनीतिक शक्तिहरूका बीचको वर्गीय धु्रवीकरण तथा त्यसले पारेको प्रभाव र चेतनाको फलस्वरुप नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । त्यसकै आलोकमा विभिन्न आरोहहरू व्यहोर्दै वैचारिक र संगठनात्मक पुनर्गठनको प्रक्रिया पार गरी नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाहका रूपमा नेकपा (एमाले) वैचारिक÷राजनीतिक सुस्पष्टता, सबल र सुदृढ संगठनको आधार भएको भरपर्दो, मुख्य राजनीतिक शक्तिका रूपमा नेपाली राजनीतिमा स्थापित र क्रियाशील छ । 
यसरी नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, विकास र विस्तारमा कमरेड पुष्पलालको अतुलनीय भूमिका, वैचारिक र सैद्धान्तिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान, आफ्नो सम्पूर्ण जीवन कम्युनिष्ट आन्दोलनको लागि समर्पण गर्नुभएको थियो । त्यस्ता स्रष्टा, सिद्धान्तकारप्रति पुनः एकपल्ट यस ४५औं स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौं । उहाँले तयार गरेको बाटोमा अविचलित र अनवरत ढङ्गले लागिरहने प्रण गर्दछौं । यही नै कमरेड पुष्पलालप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।

राजेन्द्र गौतम
प्रमुख, प्रचार तथा प्रकाशन विभाग, नेकपा (एमाले)