detail-img

अध्यक्ष ओलीद्वारा कम्बोडियामा निर्वाचन पर्यवेक्षण 

कम्बोडिया । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आज सम्पन्न सातौं राष्ट्रिय व्यवस्थापिकाको निर्वाचन पर्यवेक्षण गर्नुभयो । 
पूर्वप्रधानमन्त्री ओली कम्बोडियाको निर्वाचन आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया भ्रमणमा हुनुहुन्छ ।  
अध्यक्ष ओली निर्वाचन पर्यवेक्षणका लागि विहान ६ बजे अन्य विदेशी पर्यवेक्षकसहित टोल कोर्क प्राथमिक विद्यालय मतदान केन्द्रमा पुग्नुभएको थियो । उहाँसहितको टोलीले दिउँसो हुन सेन प्रिक रेसे प्राथमिक विद्यालय र क्रोपर हा प्राथमिक विद्यालय मतदान केन्द्रमा पनि पर्यवेक्षण गरेको थियो । निर्वाचन शान्त वातावरणमा भएको थियो भने दिउँसोसम्म ७० प्रतिशतले मतदान गरेको वताइएको थियो । पर्यवेक्षणका क्रममा ९२ बर्षीय नागरिकले मतदान गरिरहेका थिए ।  

 
कम्बोडियामा १२५ जना विधायकको निर्वाचनमा ९७ लाख १० हजार ६६५ जना मतदाता रहेका छन् । देशभर २३ हजार ७८९ मतदान केन्द्र रहेका थिए । कम्बोडियाको यस निर्वाचनमा ३३४ जना विदेशी पर्यवेक्षकहरूले विभिन्न समूहमा पर्यवेक्षण गर्नुभएको छ । निर्वाचन पर्यवेक्षकको तर्फबाट भोलि पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको छ ।

श्रीलङ्काका पूर्वराष्ट्रपतिसँग भेटवार्ता 
अध्यक्ष ओलीकोे आज अपरान्ह श्रीलङ्काका पूर्वराष्ट्रपति तथा वर्तमान सांसद मैत्रीपाला सिरिसेनासँग द्विपक्षीय भेटवार्ता भयो । अध्यक्ष ओली साँझ शान्तिका लागि अन्तर्राष्ट्रिय उच्च परिषद्ले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुभयो । 
अध्यक्ष ओलीका साथमा पत्नी राधिका शाक्य र पार्टीका उपमहासचिव बिष्णु रिमाल लगायत हुनुहुन्छ । त्यस्तै, पार्टीका परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराई आइक्यापको स्थायी समितिको सदस्यका रूपमा निर्वाचन पर्यवेक्षणका लागि कम्बोडियामा हुनुहुन्छ । अध्यक्ष ओली सोमबार साँझ स्वदेश फर्कनुहुने कार्यक्रम छ ।