detail-img

एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष बस्नेत एमालेमा समाहित 

रामेछाप । नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत नेकपा (एमाले)मा  फर्कनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औँ स्मृति दिवसको अवसरमा उहाँको जन्मस्थल रामेछापको सदरमुकाम मन्थलीमा आइतबार नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा नेकपा (एमाले) केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत एमालेमा फर्कनु भएको हो ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेल लगायतका नेताहरूले बस्नेतलाई एमालेमा स्वागत गर्नुभयो । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत हुनुहुन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएको कारण आफू एमालेमा फर्किएको बस्नेतले बताउनुभयो । आफू एमाले प्रवेश गरेको नभई बाहिर जाँदा हण्डर खाएर आफ्नै पार्टीमा फर्किएको उहाँले सुनाउनुभयो ।
एकीकृत समाजवादी र अध्यक्ष माधव नेपाल कांग्रेसको पिछलग्गु भएर केवल एमालेलाई समाप्त पार्नको लागि लागेकाले सो पार्टीले देश र जनताको हित र कम्युनिष्ट विचार बोक्न नसक्ने बस्नेतले बताउनुभयो । 
सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल, नेकपा एकीकृत समाजवादीका नेताहरू लगायत नेकपा (एमाले)मा प्रवेश गर्नुभयो । 
मकवानपुरमा माओवादी र एकीकृत समाजवादीका जिल्ला नेताहरू एमाले प्रवेश 
यसैगरी, मकवानपुरमा पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्लास्तरीय नेताहरू नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । 
नेकपा (एमाले) मकवानपुरले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औँ स्मृति दिवसको अवसरमा आज आयोजित प्रवचन कार्यक्रममा माओवादी र समाजवादीका नेताहरू एमालेमा प्रवेश गर्नुभएको हो । 
पार्टी प्रवेश गर्नेहरूमा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सदस्यहरू दिलबहादुर दोर्जे पाख्रिन र गङ्गा भट्टराई हुनुहुन्छ । 
त्यस्तै, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना, राजप्रकाश भण्डारी, भरत लामिछाने, राजेश्वर दाहाल, जानुका सञ्जेल, विष्णुमाया सापकोटा, गोविन्द देवकोटा र  बकैया गाउँपालिका कमिटीका सदस्य कृष्णबहादुर भोलन पनि एमालेमा प्रवेश गर्नुभएको छ । 
उहाँहरूलाई नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, पोलिटव्यूरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको थियो ।