detail-img

अध्यक्ष ओली कम्बोडियाबाट स्वदेश फिर्ता

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणबाट गएराती स्वदेश फर्कनुभयो । 
उहाँ कम्बोडियामा आइतबार (जुलाई २३ मा) सम्पन्न सातौं राष्ट्रिय व्यवस्थापिकाको निर्वाचन पर्यवेक्षणका लागि त्यहाँको निर्वाचन आयोगको निमन्त्रणामा साउन २ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 
अध्यक्ष ओलीलाई त्रिभुवन विमानस्थलमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, महासचिव शंकर पोखरेल लगायत नेताहरूले स्वागत गर्नुभएको थियो ।

कम्बोडियामा रहँदा निर्वाचन पर्यवेक्षणका साथै अध्यक्ष ओलीको त्यहाँका प्रधानमन्त्री हुन सेन र निर्वाचन पर्यवेक्षणका लागि आउनुभएका विभिन्न देशका शीर्ष राजनीतिक नेताहरूसँग भेटवार्ता भएको थियो । 
यसक्रममा पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी, श्रीलङ्काका पूर्व राष्ट्रपति तथा वर्तमान सांसद मैत्रीपाला सिरिसेना, नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग द्विपक्षीय भेटवार्ता भएको थियो ।  
त्यसैगरी अध्यक्ष ओलीले आइक्यापका सहअध्यक्ष पाकिस्तानका सिनेटर मुसाहिद हुसेन तथा आइक्यापका महासचिव दक्षिण कोरियाका आहन म्युङ्सुसँग भेट गरी आइक्यापका निकट भविष्यका कार्यक्रमहरू र गतिविधिका बारेमा जानकारी लिनुभएको थियो । 
अध्यक्ष ओलीले राजधानी नोम्पेनमा आयोजित शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो । 
उहाँ सोमबार विहान निर्वाचन पर्यवेक्षकहरूका तर्फबाट गरिएको पत्रकार सम्मेलनमा सहभागी भई स्वदेश फर्कनुभएको थियो । 
अध्यक्ष ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल लगायत  हुनुहुन्थ्यो ।