detail-img

अध्यक्ष ओलीसँग सीपीसीका पोलिटव्युरो सदस्य युयानद्वारा भेटवार्ता 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी)का पोलिटव्युरो सदस्य युयान च्याचुनले आज शिष्टाचार भेटवार्ता गर्नुभयो । 
नेकपा(एमाले) केन्द्रीय कार्यालय, च्यासलमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

 भेटमा चिनियाँ नेता युयानले चीन सरकारका तर्फबाट नेपाल र नेपाली जनताप्रति अगाध विश्वास जनाउँदै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र घनिष्ट बनाउने उद्देश्यका साथ आफ्नो भ्रमण भएको वताउनुभयो । 
उहाँले नेपालको विकासमा सहयोग गर्न चीन इच्छुक रहेको बताउँदै राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका समयमा भएका सहमति र समझदारी अगाडि बढाउने कुरामा जोड दिनुभयो । 
सो अवसरमा अध्यक्ष ओलीले चिनियाँ सरकार र जनताको नेपालप्रतिको विश्वासका लागि आफू र आफ्नो पार्टीका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले नेपालको विकासमा चीनको सहयोग महत्वपूर्ण रहँदै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले कोभिड–१९ को विश्व महामारीका कारण बन्द भएका दुई देशबीचका सबै व्यापारिक नाका खोल्नेतर्फ पहलका लागि आग्रह गर्नुभयो । 
भेटमा चिनियाँ प्रतिनिधिमण्डलमा नेपालका लागि चिनियाँ राजदूत छङ सोङलगायत हुनुहुन्थ्यो । 
अध्यक्ष ओलीका साथमा उपमहासचिव विष्णु रिमाल, कार्यालय सचिव भीष्म अधिकारी, विदेश मामिला विभाग सचिव अन्जान शाक्य, सदस्य गोपाल खनाल लगायत हुनुहुन्थ्यो । 
चिनियाँ प्रतिनिधिमण्डल आजै स्वदेश फर्केको छ ।