detail-img

कम्युनिष्ट योद्धा दलु छायाँको निधन 

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका अनवरत र अविचलित रूपमा योगदान गर्नुभएका ‘कम्युनिष्ट योद्धा’ दलु छायाँ (दलबहादुर भुजेल)को ७७ बर्षको उमेरमा आइतबार असामयिक निधन भएको छ । 
नेकपा (एमाले) ले कम्युनिष्ट योद्धा दलु छायाँको निधनको खबरले पार्टीलाई स्तब्ध तुल्याएको जनाउँदै निधनप्रति दुःख व्यक्त गरेको छ । 
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले उहाँको निधनमा शोक विज्ञप्ति प्रकाशित कम्युनिष्ट योद्धाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । 
पछिल्लो समय मिर्गौलासम्बन्धी समस्याका कारण उपचाररत कमरेड दलु छायाँँलाई पार्टीले गत बैशाखमा पार्टी स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धाका रूपमा सम्मान गरेको थियो । 
‘२००३ सालमा सुनसरीको धरानमा जन्मनुभएका दलु छायाँ नेपाली जनताको मुक्तिको लागि भूमिगत कालदेखि अनवरत सङ्घर्ष गर्दै आउनुभएका योद्धा हुनुहुन्छ,’ उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– शिक्षण पेशामा रहनुभएका दलु छायाँँले चार दशक शिक्षण पेशामा रहँदा जनतालाई पञ्चायती व्यवस्था बिरुद्ध सचेत गराउने क्रान्तिमा सदैव अग्रसर बन्नुभयो । उहाँले २०१७ सालमा पूर्वकोशी प्रान्तीय कमिटीसँग निकट रहेर भूमिगत कालमा पार्टी काममा खट्नुभई निरन्तर र अविचलित रूपमा योगदान गर्दै आउनुुभएको थियो । २०२२ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका कमरेड दलु छायाँ पञ्चायती व्यवस्था विरूद्धको लडाञीमा पटक पटक जेल जीवन विताउनुभएको र झापा आन्दोलनका शहीदहरूलाई पक्राउ गर्दा उहाँ पनि पक्राउ पर्नु भई प्रहरी हिरासतबाट भागेर बाँच्नुभएको घटना पार्टीका लागि स्मरणीय छ । उहाँमा रहेको पार्टीप्रतिको निष्ठा र योगदान प्रेरणादायी रहेको छ ।