detail-img

सुन तस्करी प्रकरणको उच्चस्तरीय समिति गठन गरी छानविन गर्न माग

काठमाडौं । नेकपा (एमाले) ले सुन तस्करी प्रकरणको उच्चस्तरीय विशेष समिति बनाई छानविन गर्नुपर्ने भन्दै प्रतिनिधि सभाको बुधबारको बैठकमा गृहमन्त्रीको राजीनामा र समिति गठनको माग गरेको छ । 
प्रतिनिधि सभाको बैठक अघि पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने र उच्चस्तरीय समिति गठन गरी निष्पक्ष छानविन हुनुपर्ने निर्णय गरेको थियो ।


अध्यक्ष ओलीले दलको बैठकमा सम्बोधन गर्दै सत्ता गठबन्धनले देश लुट्न खोजिरहेको हुँदा अब नेकपा (एमाले) चुप लागेर नबस्ने वताउनुभएको थियो । 
अध्यक्ष ओलीले पछिल्लो एक क्विन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता रहेको बताउँदै सरकारका मन्त्रीहरूको संलग्नताबिना त्यति ठूलो परिमाणमा सुन तस्करी हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । 
बैठकले पछिल्लो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै उहाँ पदमा बस्न योग्य नरहेको निष्कर्ष निकालेको हो । गृहमन्त्रीको संलग्नताबिना यति ठूलो परिमाणको सुन तस्कारीको सम्भावना नरहेको एमालेको ठहर छ । 
त्यसपछि बसेको प्रतिनिधि सभाको बैठकमा सुन तस्कारी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै नेकपा (एमाले) ले बैठक अवरूद्व गरेको हो । 
बैठकमा दलका धारणा राख्दै नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभएको थियो । बुधबारको प्रतिनिधिसभाको सुरूमै समय लिएर बोल्दै उहाँले सरकारले गर्ने छानबिनमा एमालेको विश्वास नरहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभएको हो । उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग पनि गर्नुभयो । मन्त्रीहरूको सेटिङमा नै क्विन्टलका क्विन्टल सुन तस्करी भएको उहाँको भनाइ थियो । यसअघि सुन तस्कारीमा कृष्णबहादुर महराको नाम आउँदा समेत छानबिन अगाडि नबढाइएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा नै सुन तस्करी भएको बताउँदै प्रमुख सचेतक गिरीले सरकारले सत्ताको आडमा काण्ड मच्चाउन खोजेको धारणा व्यक्त गर्नुभयो । त्यसपछि एमालेका सांसदहरूले रोष्ट्रम अगाडि गएर नाराबाजी गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।