detail-img

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग 

काठमाडौँ । मुलुकभर पशुहरूमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न सरकारसँग राष्ट्रिय किसान सञ्जालले माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, यसबाट क्षति व्यहोरेका किसानलाई राहत, क्षतिपूर्ति र बीमा रकम भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ ।
सञ्जालले आज पत्रकार सम्मेलन गरी उक्त माग पूरा नभए किसानले चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने जनाएको छ । 
नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले हालसम्म उक्त रोगका कारण ५० हजार पशु मरिसकेका र करिब ४० अर्ब रूपियाँ बराबरको क्षति भइसकेको जनाउँदै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने वताउनुभयो । 
सञ्जालले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका ‘स्टल’लाई प्रक्रियाबमोजिम प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउन पनि माग गरेको छ । सञ्जालले हरेक दिन समितिको परिसरमा धर्ना दिँदै आएको छ । सञ्जालले गत असार २४ गते कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाललाई भटेरे ती विषयमा ध्यानाकर्षण गराएको थियो ।
यस्तै सञ्जालले किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बीमाबापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नुपर्नेलगायत माग अघि सारेको छ । सञ्जालमा विभिन्न नौ किसान सङ्गठन आबद्ध छन् ।