detail-img

‘भ्रष्टाचारका फाइल खोल्ने हल्ला चलाई सुन भित्र्याइँदै’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको जानकारी विना सिगो पनि नछिर्ने विमानस्थलबाट क्विन्टर भन्दा बढी सुन यत्तिकै छिर्न नसक्ने वताउनुभएको छ । 
विमानस्थलबाट भित्र(शहर) छिरिसकेको सुन बरामद भएपछि बल्ल कुन प्वालबाट सुन छिर्यो भनी गृहमन्त्रीले विमानस्थल निरिक्षणको तमासा गरेको अध्यक्ष ओलीले वताउनुभयो । 
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको दुईदिने प्रशिक्षण कार्यक्रमलाई भक्तपुरको नगरकोटमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचार छानविनका क्रममा कुनै ‘कोट’ र ‘टार’ लाई छोड्दिन भन्ने सरकारका मन्त्रीलाई आफ्नै कोटको खल्ती लच्किएको हेर्न सुझाउनुभयो ।


‘भ्रष्टाचारी खोज्न अन्ततिर टर्च बाल्नै पर्दैन, सरकारभित्रै रहेको तर सरकारले भ्रष्टाचारी खोज्ने टर्च आफूतिर फर्काउँदैन, कहाँबाट भेटिन्छ भ्रष्टाचारी ?’ अध्यक्ष ओलीले भन्नुभयो । 
गठबन्धन सरकारले विपक्षी दललाई तर्साउन  विपक्षीलाई लक्ष्यित गरेर दश पन्ध्रबर्ष पुराना भ्रष्टाचारका फाइल खोलिन्छ, कारबाही गरिन्छ भन्ने हल्ला चलाएको र मानिसको ध्यान हल्लातिर मोडेर सुन तस्करी भइरहेको वताउनुभयो । सरकारले आफ्नो नेतृत्वमा भएका भ्रष्टाचार र अनियमितता बाहेकका फाइल खोल्ने वताउँदै उहाँले सबै फाइल खोल्न र दोषीलाई कारबाही गर्न चुनौती दिनुभयो ।  
उत्तरी सीमानाका केरुङबाट आउने स्याउ काठमाडौं नआई सिधै भैरहवा जाने गरेको र बीचमा कहीँ चेकजाँच नहुने वताउँदै अध्यक्ष ओलीले कस्को आदेशमा यस्तो हुन्छ ? विचार गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो । 
अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले देशको चीरहरण गरिरहेको वताउँदै यस्तै क्रियाकलाप रही रहे देश असफल राष्ट्रका रूपमा परिणत हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले यही स्थिति सधै रहिरहन दिन नहुने वताउँदै  परिस्थितिले देशको जिम्मा एमालेको काँधमा आउने वताउनुभयो । 
नेकपा (एमाले) को यात्रा अरू पार्टीजस्तो चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्म मात्र नभई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने रहेको वताउँदै अध्यक्ष ओलीले असाधारण ढङ्गले काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 
उहाँले पार्टीको संगठन विचारमा आधारित सुदृढ, व्यापक र एकताबद्ध हुनुपर्ने र पार्टीका सम्पूर्ण अवयव चलायमान हुनुपर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई शालीन र विनम्र बन्न तथा वानी व्यवहार असल हुनुपर्नेमा ध्यान दिन आग्रह गर्नुभयो । 
उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास वि.सं.१९९३ सालदेखिलाई नै मान्नुपर्ने वताउँदै प्रजा परिषद् गठनदेखिकै इतिहास नेकपा (एमाले)सँग जोडिएको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनले प्राप्त गरेका सफलता र पार्टी विभाजनका घटनाको चर्चा गर्नुभयो । 
जब जब पार्टीले लोकप्रियता हासिल गर्छ तब तब पार्टीमा फुट ल्याउने काम हुने गरेको भए पनि फुटका बाबजुद नेकपा (एमाले) सुदृढ अवस्थामा रहेको वताउनुभयो । 
दुई दिने आवासीय प्रशिक्षणमा महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य लालबाबु पण्डित र अर्थविद् तथा पूर्वमन्त्री डा. युवराज खतिवडाले प्रशिक्षण दिनुहुने छ । 
उद्घाटन सत्र नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका प्रमुख श्याम बस्नेतको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन सचिव इन्द्र भण्डारीले गर्नुभएको थियो । प्रशिक्षणमा सम्पर्क समन्वय कमिटीका सदस्यहरूका साथै प्रदेश सम्पर्क कमिटीका अध्यक्षहरूको सहभागिता रहेको छ ।