detail-img

सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री आफ्ना नेता जोगाउने प्रपञ्चमाः उपमहासचिव ज्ञवाली 

रुपन्देही । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना नेताहरूलाई जोगाउन लागेको वताउनुभएको छ । 
स्व. नेता जीवराज आश्रितको ८०औं जन्मजयन्तीको अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रममा नेता ज्ञवालीले भ्रष्टाचार सम्बन्धी मुद्दाहरूमा सरकारले गरिरहेको छानविनप्रति शङ्का व्यक्त गर्नुभयो ।
विभिन्न भ्रष्टाचारका काण्डहरूमा सरकारले आफ्ना नेताहरूलाई जोगाउने प्रपञ्च गरिरहेको बताउँदै उहाँले पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरूको नाम जोडिएर आउँदा पनि उनीहरूलाई बचाउने प्रयास गरेको प्रष्ट सङ्केत बाहिर आएको बताउनुभयो । ‘सुन तस्करीका घटनामा नाम जोडिएका नेताहरूलाई उन्मुक्ति दिएर अनुसन्धानलाई मोड्ने काम भइरहेको छ, यसै कारण एमालेले भ्रष्टाचार छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग अघि बढाएको हो’ उहाँले भन्नुभयो ।


उपमहासचिव ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएका कारण मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने धारणा राख्नुभयो । 
‘इतिहासमै पहिलो पटक राजश्व सङ्कलन गरेर कर्मचारीलाई तलब पुर्याउन समेत नसक्ने अवस्था सिर्जना भएको छ । निर्माण व्यवसायीहरूले काम पूरा गरेर पनि ८० अर्बभन्दा बढी भुक्तानी पाउन सकेका छैनन् ।’ उहाँले प्रत्येक दिन व्यवसायिक प्रतिष्ठान तथा सटरहरू खाली हुँदै गएका तर सरकारले सीमित व्यापारीलाई मात्रै पोस्ने  काम गरेको टिप्पणी गर्नुभयो । 
करको दरमा स्वार्थ अनुसार परिमार्जन गर्ने गरेका उदाहरणहरू प्रस्तुत गर्दै नेता ज्ञवालीले वर्तमान सरकारले सीमित व्यापारीलाई काखी च्यापेर अरुलाई पाखा लगाउने काम गरेको भनाइ राख्नुभयो ।
नेपालको असंलग्न राष्ट्रको नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखी च्याप्ने सरकारको प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौती समेत थपिएको उहाँले बताउनुभयो । 
‘हाम्रो राष्ट्रियतामाथि कालो बादल मडारिएको छ ।’ उपमहासचिव ज्ञवालीले भन्नुभयो– सरकार भने आफ्नो सत्ता टिकाउनका लागि असंलग्न राष्ट्रको नीतिलाई तोड्दै गएको छ । विश्वको राजनीतिक तरल अवस्थामा रहेको बताउँदै उक्त कुरालाई बेवास्ता गरेर वर्तमान सरकारले अन्तर्राष्ट्रिय कूटनीतिमा लिने गरेको असंलग्न राष्ट्रको नीतिलाई छोड्दै जाँदा समस्या आउन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।
कार्यक्रममा डा. मुरारि पराजुलीले प्रस्तुत गर्नुभएको  ‘प्रगतिशील संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणा पत्रमा विचार व्यक्त गर्दै उपमहासचिव ज्ञवालीले पार्टीभित्रको अराजकताको समाधानका लागि स्व.आश्रितको विचार अनुशरण गर्नुपर्ने बताउनुभयो । उहाँले जीवराजको विचार र उहाँको जीवनीबाट पाठ सिक्दै पार्टीलाई सुदृढ गरी बलियो राष्ट्रिय शक्ति निर्माणमा लाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।