detail-img

‘नागरिकको निरोगी र सक्रिय जीवन पार्टीको स्वास्थ्य नीति’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकको निरोगी, स्वस्थ र सक्रिय जीवन पार्टीको स्वास्थ्य नीति रहेको स्पष्ट गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’जस्तै निरोगी नेपाल पार्टीको स्वास्थ्य क्षेत्रको गन्तव्य भएको वताउनुभएको छ । 
नेकपा (एमाले) स्वास्थ्य तथा जनसङ्ख्या विभागद्वारा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आज विभिन्न क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीसँगको अन्तर्क्रियामा अध्यक्ष ओलीले निरोगी नेपाल परिपूर्ण स्वास्थ्य गन्तव्य भएको स्पष्ट गर्नुभयो । 
वर्तमान गठबन्धन सरकारको कुनै गन्तव्य नरहेका कारण स्वास्थ्य क्षेत्रमा पनि गन्तव्य छैन भन्नुहुँदै अध्यक्ष ओलीले यो सरकार भ्रष्ट, अधिनायकवादी र दमनकारी भएका कारण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीको नियुक्ति, सरुवा, बढुवामा भेदभावपूर्ण र राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा व्यवहार गर्ने गरेको वताउनुभयो । 
आजको अवस्थामा नेकपा (एमाले) को सरकार नबन्नु देशका लागि ठूलो दुर्भाग्य भएको भन्नुहुँदै अध्यक्ष ओलीले पार्टी न्यायको पक्षमा र पेशागत हकहित र अधिकारका लागि चिकित्सक, स्वास्थ्यकर्मीको साथमा रहेको वताउनुभयो । 
स्वदेशमै पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन गर्ने र स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराई नेपाललाई मेडिकल हब बनाउनुपर्ने आवश्यकता रहेको चर्चा गर्दै अध्यक्ष ओलीले चिकित्सा शास्त्र अध्ययनका लागि विद्यार्थी विदेश पठाउने र त्यसवापत कमिसन खानेहरूले मेडिकल कलेज खोल्ने कुरामा अबरोध पुर्याएको वताउनुभयो ।  
सहभागी चिकित्सकहरूका जिज्ञासा मेटाउँदै अध्यक्ष ओलीले निरोगी नेपाल निर्माण गर्नका लागि चिकित्सकहरूको ठूलो भूमिका र हात हुने बताउनुभयो । उहाँले भन्नुभयो– समग्र राष्ट्रिय गन्तब्य समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको महत्वपूर्ण स्वास्थ्य गन्तब्य निरोगी नेपाल हो ।’
उहाँले स्वास्थ्य बिमा कार्यक्रम डामाडोल भइरहेको चिन्ता व्यक्त गर्दै त्यसलाई प्रभावकारी बनाउन जरूरी रहेको चर्चा गर्नुभयो । पैसा तिर्न नसक्ने बिरामीलाई अस्पतालले बन्धक बनाउने अकल्पनीय प्रवृत्ति अन्त्य हुनुपर्ने पनि उहाँले बताउनुुभयो ।
अर्को एक प्रसङ्गमा अध्यक्ष ओलीले विचार, गन्तव्य र उद्देश्य नभएकाहरूबाट देश नबन्ने र उनीहरू टिकाउ पनि नहुने भनाइ राख्नुभयो । नयाँ नयाँ जन्मिएका पार्टीहरूतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो– सेन्टिमेन्टबाट देश बन्दैन । रास्वपा सिङ्गो पार्टीभन्दा त हाम्रै जनसंगठन राष्ट्रिय युवा संघ ठूलो छ । सबैभन्दा धेरै युवा एमालेमै छन् । सबैभन्दा धेरै युवा सांसद एमालेकै छन् तर एमालेमा युवा मात्रै छैनन् ।’
कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अन्तरक्रियाको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै निरोगी नेपाल गन्तव्य बनाएको एमालेले स्वास्थ्य क्षेत्रका समस्यालाई उच्च प्राथमिकताका साथ ध्यान दिने वताउनुभयो । 
पार्टी स्थायी कमिटीका सदस्य तथा विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य सुजिता शाक्यको पनि उपस्थिति रहेको थियो । अन्तरक्रियामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य क्षेत्रका समस्याका साथै तीन तहको सरकार बनेपछि स्वास्थ्यकर्मीहरूले भोग्नुपरेका अफ्ठ्यारा र अस्तव्यस्तता लगायत विषय ध्यानाकर्षण गराएका थिए ।