detail-img

वर्तमान सरकारबाट मुलुकमा सुशासनको अपेक्षा गर्न नसकिने

पोखरा । नेकपा (एमाले)का सचिव गोकर्ण बिष्टले वर्तमान सरकार रहुञ्जेलसम्म मुलुकमा सुशासनको अपेक्षा गर्न नसकिने बताउनुभएको छ । 
नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागको योजना तर्जुमा विस्तारित बैठक एवं प्रचार कार्यशाला आज पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकार जति लामो समयसम्म चल्छ त्यति नै समय मुलुक बर्बादीतिर जाने बताउनुभयो ।  
गण्डकी प्रदेशको इञ्चार्ज समेत रहनुभएका सचिव बिष्टले सरकारमा रहनेहरूले सुशासन र जनअपेक्षा पूरा गर्न नसकिरहेको अपजस प्रतिपक्षमा रहेको एमालेले खेप्न परिरहेकाले सरकारका कमजोरीहरूलाई जनताको बीचमा पुर्याउन पार्टी पङ्क्ति सशक्त ढङ्गले परिचालित हुन निर्देशन दिनुभयो ।
पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिन र विदेशीको सेवा गर्ने समूहहरूले एमालेविरुद्ध घेराबन्दी गरिरहेको बताउनुभयो । एमाले नेतृत्वको सरकारले गरेका कामलाई ढाकछोप गर्ने र मुलुकलाई विदेशीको इसारामा चलाउन चाहनेहरू सक्रिय रहेको उहाँको भनाइ छ । 
स्थायी कमिटी सदस्य एवं केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता भएकाले उच्चस्तरीय संसदीय छानविन समिति गठन गर्न सरकार नमानिरहेको बताउनुभयो । 
पार्टीलाई विचारसहितको शक्ति बनाउनुपर्ने भन्नुहुँदै उहाँले प्रदेश, जिल्ला, पालिका र वडा तहसम्मै प्रचार विभाग गठन गरेर संगठनहरूको कामलाई व्यवस्थित गर्न निर्देशन दिनुभयो ।  
नेकपा (एमाले) गण्डकी प्रचार विभागका प्रमुख रश्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, केन्द्रीय प्रचार विभाग सचिव गगन विष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले बोल्नुभएको थियो । 
कार्यशालामा पार्टीका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य एवम् गण्डकी प्रचार संयोजक राजीव पहारी, केन्द्रीय सदस्य कृष्ण थापा, चुडामणि जंगली लगायत सहभागी हुनुहुन्छ । भोलि सम्म चल्ने कार्यशालामा ११ वटै जिल्लाका पार्टीका सचिव, प्रचार विभाग प्रमुख, प्रेस चौतारीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षको सहभागिता छ ।