detail-img

नेपालको परराष्ट्र नीति तटस्थ, सन्तुलित र राष्ट्रहितमा हुनुपर्छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो परराष्ट्र नीति सार्वभौम समानता, राष्ट्रिय हित र असंलग्नताको सिद्धान्तमा आधारित तटस्थता, न्याय र शान्तिको पक्षमा हुनुपर्ने वताउनुभएको छ । 
हरेक देशको आफ्नो भौगोलिक अवस्थिति, विकास र आवश्यकताले परराष्ट्र नीति निर्धारण गर्ने वताउँदै अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरूको जायज हितलाई पनि ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । 
नेकपा (एमाले)को परराष्ट्र मामिला विभागले शनिबार यहाँ आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले)को धारणा’ अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले परराष्ट्र नीतिबाट भौगोलिक अखण्डता र  राष्ट्रिय हक हितको संरक्षण र प्रबर्द्धन हुनुपर्ने वताउनुभयो । 
संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्न आन्दोलनका पाँच सिद्धान्त र राष्ट्रका आवश्यकता परराष्ट्र नीतिका आधार रहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– परिस्थिति जतिसुकै बदलिएको भए पनि अहिले पनि परराष्ट्र नीतिका यी आधारमा परिवर्तन आवश्यक छैन ।


अध्यक्ष ओलीले भन्नुभयो– हामी कतै ढल्कनुपर्ने छैन, तटस्थताको नीति ठीक छ । रुस–युुक्रेन युद्धमा नेपाल हौसिएर एकातिर धुरा पस्न खोजेको वताउँदै अध्यक्ष ओलीले तटस्थता हाम्रो शक्ति हो, यस नीतिबाटै सबै मुलुक हाम्रा मित्र हुन्छन् भन्नुभयो । 
आन्तरिक र बाह्य सम्बन्धमा दृष्टिकोण बनाउन तथा नीति प्रस्तुत गर्न नेपाल स्वतन्त्र रहेको वताउँदै नेपालले शान्ति र सम्वादको माध्यमबाट समस्याको समाधानमा योगदान गर्ने गरी आफूलाई प्रस्तुत गर्नुपर्ने भनाइ उहाँले राख्नुभयो । 
छिमेक सम्बन्धमा पनि अत्यन्तै सन्तुलित र संयमित ढङ्गले कतै नझुकि र नढल्किई समदूरीका साथ सम्बन्ध कायम राख्नुपर्ने धारणा राख्दै अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो देश कुनै पनि सैनिक गुटमा सामेल हुँदैन, हाम्रो भूमिमा कुनै पनि बाह्य सैनिक क्याम्प राख्न दिँदैनौँ ।’
उहाँले भारतले लिम्पियाधुरा भएर बग्ने महाकाली नदीलाई नेपाल र भारतको सिमाना मान्नुपर्नेमा लिपुलेकमा कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याइँ भएको वताउनुभयो । 
अध्यक्ष ओलीले कालापानीमा भारतले ६१ वर्षअघि कुनै सम्झौताविना एकतर्फीरूपमा आफ्नो सेना ल्याएर राखेको उल्लेख गर्दै त्यसअघि लिम्पियाधुरा, लिपुलेकको भूभाग नेपालको भोगचलनमा रहेको हुँदा नेपालले आफ्नो भूभाग छोड्न नहुने र नसक्ने धारणा राख्नुभयो । 
उहाँले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन आफैँले बुझ्ने तयारीका क्रममा सरकार छाड्नुपरेको स्पष्ट गर्नुभयो । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण इपीजी प्रतिवेदन र सीमाको विषयमा कुरै नउठाउनुभएको र भ्रमण राष्ट्रिय स्वार्थप्रधान नभएर सत्ता स्वार्थप्रधान भएको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । 
उहाँले भन्नुभयो– हामीले हाम्रा छिमेकीसँग मित्रतापूर्ण ढङ्गले र स्पष्ट ढङ्गले हाम्रा न्यायोचित हितको सन्दर्भमा स्पष्ट दृष्टिकोण राख्नुपर्छ । 
भारत र चीन दुई मित्र राष्ट्र भएकाले दुवैसँग खुलस्त कुरा राखेर आपसी समस्यालाई समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले राष्ट्रिय हितको पक्षमा कुरा आउँदा जो सुकैले ल्याए पनि समर्थन गरी राष्ट्रिय एकता प्रकट गर्न एमाले तयार रहने स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले राष्ट्रिय हित र मानव जातिको समग्र हितलाई ध्यानमा राखेर परराष्ट्र सम्बन्ध कायम गर्नुपर्ने वताउँदै निषेधका लागि बल प्रयोगको पक्षमा समर्थन गरेर जान नसकिने स्पष्ट गर्नुभयो । 
कार्यक्रमको अध्यक्षताका साथै अन्तर्क्रियाका विषयमा प्रकाश पार्दै पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले दक्षिणपूर्व र दक्षिण एसियामा शक्ति राष्ट्रको प्रभाव बढिरहेको र भू–राजनीतिक जटिलताको समयमा पार्टी सरकारमा नरहँदा पनि परराष्ट्र नीतिका सम्बन्धमा जनतालाई आफ्ना धारणा जानकारी गराउन अन्तर्क्रिया राखिएको वताउनुभयो । 
खासगरी कूटनीतिक क्षेत्रका विज्ञ तथा पूर्व राजदूतहरूको सहभागिता रहेको अन्तर्क्रियामा पूूर्व राजदूतहरू दुर्गेशमान सिंह, मोहन लोहनी, डा. दिनेश भट्टराई, मोहनकृष्ण श्रेष्ठ, भीम उदास, प्रद्युम्न साह, नारद भारद्वाज, त्रिविका प्राध्यापक खड्ग केसी, डा. विष्णुराज उप्रेती, पत्रकार कनकमणि दीक्षित लगायतले परराष्ट्र नीतिका सम्बन्धमा आ–आफ्ना जिज्ञासा र सुझाव राख्नुभएको थियो ।  
कार्यक्रममा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, उपमहासचिव विष्णु रिमाल लगायत केन्द्रीय नेताहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव डा. अन्जान शाक्यले सहजीकरण गर्नुभएको थियो ।