detail-img

प्रधानमन्त्रीको ध्यान राष्ट्रहितमा भन्दा बाह्यहितमाः उपमहासचिव ज्ञवाली

रुपन्देही । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारका गतिविधिका कारण मुलुकमा अस्थिरता बढेको बताउनुुभएको छ । 
मुलुकको प्रधानमन्त्रीले राष्ट्र हितभन्दा बाह्य हितको लागि काम गरिरहेको आरोप लगाउँदै नेता ज्ञवालीले देश विकासको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक परेको बताउनुभयो । 
सोमबारदेखि लुम्बिनीको दाङ देउखुरीमा प्रदेश पार्टी स्कुल विभागले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको जगमा बलियो राष्ट्रिय शक्ति आवश्यक रहेपनि निर्वाचनबाट जनमत छरिएका कारण मुलुकले समस्या भोग्नुपरेको वताउनुभयो । 
प्रधानमन्त्रीको ध्यान राष्ट्रतिर नभई आफ्नो कुर्सीको खुट्टातिर मात्रै रहेकाले मुलुकमा सङ्कट उत्पन्न भएको उहाँको भनाइ छ ।


उपमहासचिव ज्ञवालीले एमालेले स्कुल विभागलाई चुस्त बनाउँदै कार्यकर्ता प्रशिक्षणलाई व्यापक बनाउनेगरी काम अघि बढाएको वताउँदै चार तहमा एमालेको स्कुल विभागले कक्षाहरू सञ्चालन गर्ने र त्यसबाट विचारको बलियो जग निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । 
‘सात वटै प्रदेशका स्कुल विभागलाई व्यवस्थित गरेर अघि बढाउन थालेका छौं । पार्टीमा लाग्नेहरू विचारमा स्पष्टता हुनुपर्छ । त्यही भएर सबै तहका सदस्यलाई कक्षा सञ्चालन गरेर प्रशिक्षित गर्ने छौं,’ उहाँले भन्नुभयो– आधारभूत, माध्यमिक, केन्द्रीय र विशिष्टखालको स्कुल चलाउने छौं । 
पार्टीमा आवद्ध हुने सबै सदस्यलाई प्रशिक्षित गर्ने योजनाअनुसार काम अघि बढाइको हुँदा प्रशिक्षण अभियान चलाउन प्रशिक्षक तयार पार्न थालिएको स्पष्ट गर्दै स्कुल विभाग प्रमुख ज्ञवालीले हरेक जिल्लामा कम्तिमा चारजना प्रशिक्षक तयार गर्नेे र कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्त, भावी रणनीति र योजनाको बारेमा प्रशिक्षित गर्ने कार्यक्रम तय वताउनुभयो ।  
लुम्बिनी प्रदेशका स्कुल विभाग प्रमुख लक्ष्मण ज्ञवालीले पार्टीको स्कुललाई व्यवस्थित गरिएको जानकारी दिनुभयो । पार्टीको नीति, विचार र सिद्धान्तलाई सबैमाझ जानकारी दिने उद्देश्यअनुसार काम अघि बढाइएको उहाँको भनाइ छ । यो प्रशिक्षणपछि पार्टीले नियमित स्कुलका कार्यक्रम सञ्चालन गर्ने जनशक्ति तयार गर्ने नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिनुभयो ।