detail-img

एमालेको नेतृत्वमा तराई–मधेशको समृद्धि यात्रामा जोडिन महासचिव पोखरेलको आह्वान 

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुन तस्करी प्रकरणमा सत्तापक्षकै कतिपय ठूला नेताहरू मुछिएको देखिएपछि स्वच्छ र निष्पक्ष छानबिन हुनेमा आशङ्का उब्जिएको हुँदा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरिएको स्पष्ट गर्नुभएको छ । 
पर्साको बीरगञ्जमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सुन तस्करीमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादीका नेताको अस्वाभाविक फोन सम्वादले सुन तस्करीमा संलग्नता पुष्टि गर्ने वताउनुभयो । 
उहाँले भन्नुभयो– सुन तस्करीमा समातिएका चिनियाँ व्यापारीसँग माओवादीका नेताले २३४ पटक फोन सम्पर्क गर्नुपर्ने के महत्वको विषय थियो होला ? तपाईहरू आफै अनुमान गर्न सक्नुहुन्छ । 
भ्रष्टाचारका विरुद्ध कुनै प्रकारको सम्झौता गर्दिन भन्ने वर्तमान गठबन्धन सरकारका गृहमन्त्री र प्रधानमन्त्रीले आफ्ना पार्टीका नेताहरू भ्रष्टाचारजन्य क्रियाकलापमा जोडिएका तथ्यहरू बाहिर आउन थालेपछि त्यसलाई सामान्यीकरण गर्नका लागि फोन सम्पर्कका आधारमा कोही दोषी हुँदैन भन्न थालेको महासचिव पोखरेलको भनाइ छ । 
उहाँले राष्ट्रलाई नेतृत्व गर्न असफल भएकाहरू, दलाल नोकरशाह र तस्करीलाई प्रवद्र्धन गर्नेहरूले त्यो चिजमा खवरदारी नहोस् भनी जनताको ध्यान अन्यत्र मोड्न कथित भ्रष्टाचार विरुद्धको मुद्दा उछालेको आफ्नो विश्लेषण रहेको वताउनुभयो । 
महासचिव पोखरेलले हाम्रो पार्टी भ्रष्टाचारका सबै मामिलाहरूमा निष्पक्ष छानविन हुनुपर्छ भन्ने मान्यता राख्ने स्पष्ट गर्दै कुनै पनि भ्रष्टाचारका फाइल खोले पनि नेकपा (एमाले) का नेताहरूले क्लिनचिट पाउनेमा आफ्नो विश्वास रहेको वताउनुभयो । छानविनबाट भ्रष्टाचारका कुनै पनि घटनामा एमालेका नेताहरू दोषी देखिए पार्टीले कारबाही गर्ने उहाँको भनाइ छ । 
सुन तस्करी प्रकरणलगायतका विषयमा छानबिनका लागि आयोग गठन गर्न सत्तापक्ष तयार नहुँदा सदन अवरुद्ध रहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– हामीले कुनै जटिल वा अप्ठ्यारो माग राखेका छैनौँ । उच्चस्तरीय छानबिन आयोग बनाउन भनेका हौँ, सत्तापक्षले प्रतिपक्षको सामान्य कुरा समेत सुन्न नचाहेकाले यस्तो परिस्थिति सिर्जना भएको छ ।
संसद्मा प्रतिपक्षका कुरा सुन्नै नचाहने, बोल्नै नदिने र कुरा उठाउनसमेत बन्देज लगाउने जस्ता कार्य गरिरहेकाले संसद् अवरुद्ध गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले भन्नुभयो– हामीले उठाएको आयोग गठनको माग सम्बोधन गर्न तयार भए संसद् सञ्चालन हुन्छ ।
पत्रकार सम्मेलनमा मधेशको विकास र समृद्धिका बारेमा बोल्दै महासचिव पोखरेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारका समयमा अलपत्र अवस्थामा रहेको हुुलाकी सडक निर्माणको कामले गति लिएको, तराई मधेशका जिल्ला सदरमुकामका सडक कालोपत्रे गर्ने काम भएको, सिंचाइका लागि धेरैले कल्पना समेत नगरेको सुनकोशी–मरिण डाइभर्सन शुरु गरे अहिले निर्माणको काम भइरहेको वताउनुभयो ।


वर्तमान गठबन्धन सरकारको तराई मधेशको समृद्धि र विकासक कुनै स्पष्ट योजना र कार्यक्रम नरहेको वताउँदै उहाँले तराई मधेशको समृद्धिको नेतृत्व गर्न चाहने युवाहरू, राजनीतिकर्मीहरूलाई नेकपा (एमाले)को नेतृत्वमा तराई मधेशको समृद्धिको यात्रा थाल्न आह्वान गर्नुभयो ।  
उहाँले नेकपा (एमाले)को अबको ध्यान तत्कालको सत्ता राजनीतिमा नभई भविष्यतर्पm केन्द्रित हुनुपर्छ भन्ने मान्यताका आधारमा मिसन ग्रासरुट अभियान र त्यसपछि बार्षिक कार्ययोजना बनाएर, नेताहरूको कार्यविभाजनमा पनि हेरफेर गरी पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउने ‘मिशन–२०८४’ लक्ष्यमा आफूहरू अगाडि बढिरहेको वताउनुभयो ।  
देशमा धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दलको खाँचो छ भन्ने कुरालाई बुझेर अब नेपाली जनताले आफ्नो मत धेरै दलमा बाँड्नु हुँदैन भन्ने कुराको सङ्कल्प गर्नुपर्छ ।  
महासचिव पोखरेलले भन्नुभयो– तराई मधेशका जनतालाई आह्वान गर्न चाहन्छु, अब तपाईहरूको मत साना साना दलमा विभाजन गर्ने होइन, बलिया राजनीतिक दल निर्माण गर्ने कुरामा खर्च गर्नुस् । त्यसले नै तराईको समृद्धि र विकासको आधारशीला खडा गर्न सक्छ । राष्ट्रको विकास र समृद्धिको नेतृत्व गर्न सक्छ । 
नेकपा (एमाले)सँग स्पष्ट भिजन रहेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाई अगाडि बढ्न खोजिरहेको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो । 
पार्टीमा नयाँ गरिएको कार्यविभाजनबाट जिल्ला जिल्लामा पार्टीलाई अझ एकताबद्ध, मजबुत र जनतामा स्थापित गराउने काम गर्ने छ भन्ने विश्वास गरिएको उहाँको भनाइ छ । 
पत्रकार सम्मेलनमा नेकपा (एमाले)का सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह, अच्युत मैनालीलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
यसैबीच, नेकपा (एमाले)का मधेश प्रदेशमा कार्यरत केन्द्रीय कमिटी सदस्यहरूको बैठक आजै पर्साको वीरगञ्जस्थित आदर्शनगरमा सम्पन्न भएको छ । 
पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्य र सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको उपस्थितिमा बैठक सम्पन्न भएको हो । 
महासचिव पोखरेलले वीरगञ्जमा स्थापना गरिएको मधेश प्रदेश कमिटीको प्रचार तथा प्रकाशन विभागको कार्यालय पनि उद्घाटन गर्नुभयो ।