detail-img

लुम्बिनी प्रदेश अधिवेशनको तयारी बैठक सम्पन्न

रुपन्देही । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीविरुद्धको चौतर्फी घेराबन्दी तोड्न सबै कमिटीलाई चलायमान बनाउनेगरी अगाडि बढेको बताउनुभएको छ । 
सचिव अर्यालले यही भदौ १६ र १७ गते बुटवलमा हुने लुम्बिनी प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनका सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै आफूले प्रदेशको जिम्मेवारी लिएर आएपछि सबै जिल्ला कमिटीका बैठकहरू गरी चलायमान बनाएको, सबै जिल्लाबाट सदस्यता नवीकरण अद्यावधिक गरिएको र अधिवेशन पनि अन्य प्रदेशभन्दा पहिले गरेर नयाँ सन्देश दिन थालेको वताउनुभयो । 
‘प्रदेश अधिवेशनबाट सकेसम्म सहमतिमै नयाँ नेतृत्व छनौट गर्ने नभए लोकतान्त्रिक विधि खोजिने बताउँदै उहाँले एमाले विधिमा चल्ने पार्टी भएका स्पष्ट गर्नुभयो । सचिव अर्यालले प्रदेश कमिटीको प्रतिनिधिमा समावेशी सहभागिता र युवा सहभागितालाई विशेष ध्यान दिएको बताउँदै बुटवलको अधिवेशनबाट नयाँ सन्देश दिनेगरी योजना बनाएको जानकारी गराउनुभयो । 
अधिवेशनको सन्दर्भमा आइतबार तयारी बैठक बसेको छ । बैठकमा प्रदेश इन्चार्ज अर्यालले यो अधिवेशन सातै प्रदेशमध्ये पहिलोपटक हुन लागेको र देश सङ्घीयतामा गइसकेपछि एमालेले पार्टीलाई संविधान अनुकूल बनाउने अभियानका रूपमा अधिवेशनलाई लिएको बताउनुभयो । 
प्रदेश र जिल्ला पार्टी नेतृत्वमा रहेका सबैलाई पार्टीको यो अभियानलाई बुझ्न र तदनुसारको सक्रियता प्रदर्शन गर्न निर्देशन दिँदै यसको भब्यताले पार्टी चलायमान हुन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश संगठन कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले अधिवेशनको तयारीका सन्दर्भमा आजसम्म भए गरेका कामको जानकारी गराउनुभएको थियो । 
व्यवस्थापनका हिसावले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, कपिलवस्तुका अध्यक्ष डम्वर शर्मा र नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीले अधिवेशनको तयारीका सन्दर्भमा जिल्लास्तरमा हुने अफ्ठेरा, सहजता, चुनौती तथा भए गरेका काम खासगरी जनपरिचालनका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
अधिवेशन तयारीका लागि तीनै जिल्लालाई स्थानीय आयोजक मानिएको छ । बैठकमा पोलिटब्युरो सदस्य लीला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बलराम अधिकारी, नेताहरू गिरिधारीलाल न्यौपाने र यस क्षेत्रमा रहेका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र तीनै जिल्लाका पार्टी पदाधिकारीसमेतको सहभागिता रहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले वताउनुभयो । 
अधिवेशनको लोगो सार्वजनिक
यसैबीच प्रदेश अधिवेशनको लागि बनाइएको लोगो नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका लागि प्रचारका केन्द्रीय संयोजक सूर्य थापाले सार्वजनिक गर्नुभएको छ । 
अधिवेशन तयारीकै सिलसिलामा प्रदेशको प्रचार विभाग, सबै जिल्लाका प्रचार विभाग प्रमुख, प्रेस चौतारीको नेतृत्वसहित बसेर थापाले लोगो सार्वजनिक गर्दै प्रचार विभागले गर्ने कामबारे निर्देशन दिनुभएको थियो ।