detail-img

‘सरकार भ्रष्टाचारी र तस्करको संरक्षक हो भन्ने पुष्टी भएको छ’

विराटनगर । नेकपा (एमाले)का सचिव रघुबीर महासेठले वर्तमान सरकार योजना बनाएरै तस्करीमा लागेको वताउनुभएको छ । 
एमालेलाई बदनाम गराउन सरकारले गरेका सबै हतकण्डा बिफल भएको वताउँदै सचिव महासेठले सरकार तस्कर र भ्रष्टाचारीको संरक्षक रहेको तथ्य प्रमाणित भइसकेको बताउनुभयो । 
नेकपा (एमाले) कोशी प्रदेशको प्रचार तथा प्रकाशन विभागले  विराटनगरमा आज आयोजना गरेको योजना तर्जुमा तथा प्रचार कार्यशालामा बोल्दै कोशी प्रदेशका इञ्चार्जसमेत रहनुभएका सचिव महासेठले सरकार योजना बनाएरै तस्करीमा लागेको पुष्टि भइसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो– यो सरकार आफ्नो तस्करी धन्दा अघि बढाउन हरेक कुरामा एमालेतिर आरोप लगाएर जनताको ध्यान मोड्न खोज्दै छ, हामी सबै एकजुट भएर यो अपराधको भण्डाफोर गर्नुपर्छ ।
सचिव महासेठले सुन तस्करीको घटनाले सरकारको सबै पोल खोलेको र अहिले प्रहरी सरुवा गरेर सरकार अपराधीको संरक्षक बनेको बताउनुभयो । उहँले भन्नुभयो–प्रहरीको सरुवाबाट सुन तस्करीदेखि भुटानी शरणार्थी प्रकरणसम्मका घटनामा गृहमन्त्रीकोे संलग्नता छ भन्ने प्रमाणित भयो । ललिता निवास प्रकरणमा पनि सरकारले अपराधीलाई संरक्षण गर्ने काम गर्यो । अपराध र अपराधीलाई जोगाउनेतिर मात्रै सरकारको ध्यान गएको छ ।
पार्टी अध्यक्ष केपी ओलीमाथि भइरहेको सुनियोजित हमलाको जस्ताको तस्तै जवाफ दिने बेला आएको बताउँदै सचिव महासेठले भन्नुभयो– हाम्रो पार्टीका अध्यक्ष कामरेडबिरुद्धको आक्रमण स्वाभिमानको लडाई कमजोर बनाउन, बलियो राष्ट्रिय शक्ति बन्न नदिन र बिदेशीको गुलामी गरिरहनुपर्छ भन्ने सन्देश दिनका लागि हो । वर्तमान सरकारले त्यही गरिरहेको छ । 
उहाँले सरकारको कारण मुलुकको आर्थिक अवस्था अत्यन्तै खस्किएको बताउनुभयो । 
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई इतिहासकै सबैभन्दा नालायक र भष्ट्राचारीहरूको सरकारको संज्ञा दिनुभयो । 
प्रमुख गौतमले भन्नुभयो– यो सरकारले भ्रष्टाचारका जति पनि फाइल खोल्यो, ती सबै नाटक हुन् भन्ने प्रमाणित भयो, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी काण्डमा सरकारको ब्यवहारले यो इतिहासकै सवैभन्दा कलङ्कित सरकार हो भन्ने तथ्य उजागर भएको छ ।
सुन तस्करको उच्चस्तरीय छानविन किन चाहियो भन्ने कुरा सरकारको ब्यवहारले नै प्रष्ट पारिसकेको वताउँदै गौतमले भन्नुभयो– प्रहरी संगठनभित्र भएको हठात् सरुवाले सरकार अपराधी जोगाउने सुनियोजित धन्दामा लागेको छ भन्ने प्रमाणित गरेको छ । उहाँले सुन तस्करीमा पनि सरकार मुल मान्छे जोगाउनका लागि परेको बताउनुभयो । त्यस्तै, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री नेकपा (एमाले) र यसको मुल नेतृत्वविरुद्धको आक्रमण यत्तिमा मात्र सीमित नभई नेपालको सार्वभौमसत्ताका विरुद्धमा भएको आफ्नो अनुभूति रहेको वताउनुभयो । उहाँले मुलुकको राष्ट्रियता बलियो हुने, सार्वभौमसत्ताको रक्षा गर्ने कुरा नेकपा (एमाले) को योजनामा निर्भर रहने धारणा राख्नुभयो ।