detail-img

सुन तस्करीमा सत्ता संरक्षित अन्तर्राष्ट्रिय गिरोहः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जस्तो भ्रष्ट सरकार दुनियाँमा कतै नभएको बताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित कार्यक्रममा सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । 
‘साधारण जनताले एउटा सानो थैली लिएर जाँदा पनि जाँच हुन्छ । महिलाहरूका  बुलाकी, ढुङ्ग्री, मुन्द्री जाँच गर्छ । अनि क्वीटल सुन आउँदा सजिलै पास हुन्छ, अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– सुन तस्करी वर्तमान सरकारले नगराएको भए कस्ले गरायो ?
उहाँले भन्नुभयो– यो सरकारका पालामै तीन हजार केजीभन्दा बढी सुन तस्करी भएको  छ, त्यो सरकारको संलग्नताविना कसरी सम्भव हुन्छ ?   
सुन तस्करीमा सत्ता संरक्षित अन्तर्राष्ट्रिय गिरोह रहेकाले नेकपा (एमाले)ले निष्पक्ष छानविन गर्न आयोग बनाऔँ भनेको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो ।   
नेकपा (एमाले)लाई डेमोक्रेसीको मतलब छैन भनेर हल्ला गर्नेहरूलाई उहाँले प्रश्न गर्नुभयो– के सुन खानेहरूलाई डेमोक्रेसीको मतलब छ ? तस्करहरूलाई डेमोक्रेसीको मतलब छ ? हामीलाई छैन ? 
‘माओवादीको एउटा डफ्फाको काम नै यस्तै खालका क्रियाकलाप गर्ने हो’, उहाँले भन्नुभयो– बदमासी काम आफू गर्ने अनि हल्ला अर्काेतिर चलाइ दिने । सोझा नेपाली जनता हल्लाका पछि कुद्छन् ।  
अहिले नेकपा (एमाले)ले संसद चल्न दिएन भनेर हल्ला चलाउने काम समेत माओवादीले गरेको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो ।  ‘हामीले त यो तस्करी रोक्नु पर्यो भनेको हो । सियो पनि छिर्न नसक्ने विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन कसरी आउँछ ?’ 
उहाँले तस्करीमा केही कुरा नमिलेपछि बेलाबखत बर्तमान सरकारले सुन समात्ने गरेको बताउनुभयो ।  
नेकपा (एमाले) संसद चलाऔं, संसदमा राम्रो कामको छलफल होस् भन्ने पक्षमा रहेको भन्दै त्यो सम्भव नभएको भनाइ अध्यक्ष ओलीले राख्नुभयो । 
‘संसद माओवादीको झुट, बेइमानी, फट्याईका कारण अवरुद्ध भैरहेको छ । संसद माओवादीको वकवास गर्ने थलो भएको छ,’ उहाँले भन्नुभयो– संसद भनेको जनताको कुरा सुन्ने ठाउँ हो । देशका समस्या के छने ? देशको विकास कसरी गर्न सकिन्छ ? भनेर छलफल गर्ने थलो हो ।  संसदमा एमालेले कुरा उठाउँदा सत्ता पक्ष उठेर हल्ला गरेर कुरा राख्नै दिँदैन । भ्रष्टाचारी, सुन तस्करीका बारेमा बोल्नै दिदैँन । साढे ९ केजी सुन गायव भएको बारेमा बोल्नै दिँदैन । यस्तो संसद सायद दुनियाँ कतै छैन । 
कार्यक्रममा केन्द्रीय सदस्यमा मनोनीत हुनुभएका छक्कबहादुर लामाले शपथ ग्रहण गर्नुभएको थियो ।