detail-img

अध्यक्ष ओलीद्वारा भूतपूर्व सैनिक तथा प्रहरीको भेलालाई सम्बोधन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरू आफूलाई कहाँ फसाउन सकिन्छ भनेर लागिपरे पनि उनीहरूले त्यसमा सफलता नपाउने बताउनुभएको छ । 
अध्यक्ष ओलीले विगतमा गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्री रहेको समयमा कानुनका पाना पल्टाएर मात्र निर्णय गरेको वताउँदै आफूलाई हत्कडि लगाउने ठाउँ नभएको स्पष्ट गर्नुभयो । 
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा विहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– केपी ओलीलाई हत्कडी लगाउने कुनै ठाउँ छैन । अध्यक्ष ओलीले आफूलाई हत्कडी लगाउन नसके कसैले गोली हान्न सक्ने आशङ्का व्यक्त गर्नुभयो । 
उहाँले आफूलाई कहाँ फसाउन सकिन्छ भनी विरोधीहरूले माकुराको जालो बुनिरहेको तर ‘माकुराको जालोमा भैंसी’ नपर्ने बताउनुभयो ।


भ्रष्टाचार र तस्करीलाई ढाकछोप गर्न चाहनेहरूले भ्रष्टाचारका घटना एमालेतर्फ देखाएर समाजमा भ्रम सिर्जना गर्न खोजेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले अहिले फाइल खोलिएका विभिन्न प्रकरणहरूलाई ढाकछोप गर्न झापाको गिरीबन्धु टी–स्टेटको विषय अगाडि सारिएको बताउनुभयो । उहाँले एकै समयमा धेरै फाइल खोलेर कारबाहीको प्रक्रिया निष्प्रभावी बनाउने प्रपञ्च रचिएको र सोही प्रपञ्चअनुरुप गिरीबन्धु टी–स्टेटका विषयलाई उछालिएको बताउनुभयो । 
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा जनजातिहरूलाई भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको वताउनुभयो । 
कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उहाँको भनाइ छ । 
प्रचण्ड र नेपालले आफ्नो स्वार्थका लागि कार्यकर्ताहरू भिडाउने र द्वन्द्व भड्काउने प्रयास गरिरहेकोे भन्दै अध्यक्ष ओलीले नेकपा (एमाले)ले द्वन्द्व मच्चिन नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो– अहिले कोशी प्रदेशमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता हुन् । प्रचण्ड र माधन नेपाल नेपाली जनतालाई नुवाकोमा गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिइँदैन । शासनमा बस्नेहरू नै यस्ता विषयलाई ख्यालख्याल सोचिरहेका छन्, सजग हुनुपर्छ ।’ संगठनका अध्यक्ष विनोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज यज्ञराज सुनुवारको अतिथिका रुपमा उपस्थिति रहेको थियो ।