detail-img

कोशीमा एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश 

काठमाडौं । सर्वाेच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ । 
न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलाशले संविधानको धारा १६८(३) बमोजिम २४ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आज (२०८० भदौ २१ गते) प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको हो । 
यसअघि संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरिनुभएका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य इस्राइल अन्सारीको समेत मत लिई बहुमत पुर्याउनुभएपछि कार्की त्यसका विरुद्धमा अदालत जानुभएको थियोे । 
कोशी प्रदेशमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । 
सर्वोच्च अदालतले प्रदेश सभा बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यको मतदानलाई असंवैधानिक ठहर गरेको छ ।