detail-img

कोशी प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता कार्की मुख्यमन्त्री नियुक्त

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सभामा संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । 
दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले आजै (२०८० भदौ २२ गते) पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 
कोशी प्रदेश सभामा ४० सभासद्सहित सबैभन्दा ठूलो दलका रूपमा रहेको नेकपा (एमाले)का संसदीय दलका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरी शपथ गराउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले तीनजना मन्त्री र एकजना राज्यमन्त्रीसमेत नियुक्त गर्नुभएको छ । सो अनुसार तिलकुमार मेन्याङ्वो– खानेपानी, सिंचाइ तथा उर्जा, एकराज कार्की– भौतिक पूर्वाधार र पाँचकर्ण राई– पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ भने सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ । 
सर्वोच्च अदालतले बिहीबार यसअघि मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेसका उद्धव थापाले भदौ ४ गते लिनुभएको विश्वासको मत असंवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । तत्कालीन मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा प्रदेश सभा बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्यले समेत मतदान गर्नुभएपछि उक्त कदम असंवैधानिक भएको दावी गर्दै नेकपा (एमाले) का नेता कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।