detail-img

हाम्रो भूमिका पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने हुनेछः कंडेल

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले नवनिर्वाचित प्रदेश कमिटीको अबको भूमिका पार्टीलाई एकताबद्ध, सशक्त र सुदृढ बनाउन केन्द्रित हुने वताउनुभएको छ । 
पार्टीले मिशन–०८४ र सबै तहमा कम्तीमा ५१ प्रतिशत बहुमतमा एमालेलाई पुर्याउने लक्ष्यका पार्टीका सबै गतिविधि केन्द्रित गरेको हुँदा उक्त लक्ष्य हासिल गर्ने दिशामा एकताबद्ध ढङ्गले परिचालित हुने प्रतिबद्धता अध्यक्ष कंडेलले व्यक्त गर्नुभएको छ । 
नवनिर्वाचित अध्यक्ष कंडेलले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको नेतृत्व चयनलाई लिएर विभिन्न सञ्चारमाध्यम र  सामाजिक सञ्जालमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र अन्य नेताहरूको नाम जोडी पार्टीमा गुट, उपगुटको दुष्प्रचार गरिएकोप्रति आपत्ति जनाउनुभएको छ । 
अध्यक्ष कंडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई लिएर भइरहेका यस्ता दुष्प्रचारप्रति पूर्ण रूपमा सजग र सचेत रहेको र पार्टीमा कुनै गुट, फुट र विभाजन मान्य नरहेको जनाउनुभएको छ । 
उहाँले भन्नुभएको छ– श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वलाई सर्वोपरि मान्दै पार्टीको विधान महाधिवेशन, राष्ट्रिय महाधिवेशनका नीति, विचार, सिद्धान्त आत्मसात् गर्दै एकतावद्ध, सशक्त र सुदृढ पार्टी निर्माणमा हाम्रो भूमिका हुनेछ । 
अधिवेशन अभूतपूर्व रूपमा भव्य र सभ्य ढङ्गले सम्पन्न भएको र यसले लोकतन्त्रकोे अभ्यास कसरी गर्ने भनेर सबै पार्टीलाई सिकाएको बताउँदै उहाँले यसबाट सबै कम्युनिष्ट पार्टी र अन्य बुर्जुवा सुधारवादी पार्टी समेतलाई मार्गदर्शन गरेको विश्वास व्यक्त गर्नुभएको छ ।  
मुलुक संघीय संरचनामा गएपछि नेकपा (एमाले)ले लुम्बिनी प्रदेशबाट अधिवेशन शुरू गरेर सङ्घीयता कार्यान्वयन गर्ने सन्दर्भमा अर्को एउटा इँट्टा थप्ने काम गरेको उहाँको विज्ञप्तिमा उल्लेख छ ।  
अध्यक्ष कंडेलले अधिवेशनको उद्घाटन गरी महत्वपूर्ण सम्बोधन गर्नुहुने प्रमुख अतिथि अध्यक्ष कमरेड केपी शर्मा ओली, सबै अतिथि कमरेडहरू, अधिवेशनका प्रतिनिधिहरू, अध्यक्ष मण्डल, निर्वाचन आयोग लगायत अधिवेशनलाई भव्य र सभ्य ढङ्गले सफल बनाउन विभिन्न उपसमितिमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कमरेडहरू, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिनुभएको छ ।