detail-img

पहिचानका नाममा लोकतन्त्र विपरीतका गतिविधि नगर्न आग्रह 

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्बाङले पहिचानका नाममा ढुङ्गा प्रहार लगायतका अलोकतान्त्रिक गतिविधि नगर्न आग्रह गर्नुभएको छ  । 
राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनको शनिबार धरानमा उद्घाटनपछि सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले लोकतन्त्र विपरीतका गतिविधि जहाँबाट भइरहेका भए पनि बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।  
उहाँले नेकपा (एमाले)को विरोध गरे पनि लोकतान्त्रिक विधि, पद्धति अपनाउन आग्रह गर्नुभयो  ।


केही समय अघि अध्यक्ष केपी शर्मा ओली र आफू चढेको गाडीमा झापाको बुधबारेमा पहिचानवादीको नाममा ढुङ्गा प्रहार भएको  उल्लेख गर्दै नेता नेम्बाङले अराजक गतिविधि नगर्न आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो– पहिचानको ढुङ्गा खतरनाक हुँदोरहेछ, ढुङ्गाले ताप्लेजुङका लिम्बू जातीका डिएपीको टाउकोमा १७ टाँका लगाउनुपर्यो, झापाका प्रहरी हवल्दार राजबंशीको च्यापुनै भत्कियो, यो पहिचानको ढुङ्गा त खतरनाक हुँदोरहेछ, यो कसैको हितमा छैन । 
संविधान सभाका अध्यक्ष नेम्बाङ्गले नेकपा (एमाले)लाई पहिचान बिरोधी भन्नु गलत भएको बताउनुभयो । एमाले पहिचान, समावेशिता र धर्म निरपेक्षता कायम गराउने पार्टी भएको स्मरण गराउनुभयो । 
उहाँले किराँत धर्मका महागुरु फाल्गुनन्दलाई नेकपा (एमाले)को पहलमा राष्ट्रिय विभूति घोषणा गरिएको जनाउँदै फाल्गुनन्द किराँतीको मात्र नभई सिङ्गो देशको महागुरु हुनुभएको प्रष्ट पार्नुभयो । उहाँको प्रश्न छ –यति काम गर्ने पार्टीलाई पहिचान विरोधी भन्न मिल्छ ?
उद्घाटन सत्रमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य सुनसरी जिल्ला इन्चार्ज शेरधन राई, पार्टीका पोलिटव्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेत, पार्टीका केन्द्रीय सदस्य यज्ञराज सुनुवार लगायतले अधिबेशन सफलताको शुभकामना दिनुभयो ।
अधिवेशनमा प्रदेशका करिव एक हजार युवा प्रतिनिधिको सहभागिता रहेको छ ।  अधिवेशनले राष्ट्रिय युवा संघको १०१ सदस्यीय कोशी प्रदेश कमिटी गठन गर्ने छ ।